| मङ्लबार, कार्तिक २४, २०८३

पूनः प्रयास गर्नुको शक्ति

जेम्स तामाङ

कुनै काम धेरै चोटी गर्नुभयो भने तपाई त्यसमा सफल बन्नुहुनेछ । प्रयास गरिरह्यो भने एक न एक चोटि वा कुनै न कुनै दिन सफल हुन्छ नै । मैले प्रयास गरे तर भएन अब के गर्ने ? फेरि प्रयास गर्ने । फेरि भएन, फेरि गर्ने ।

त्यसैलाई फेरि प्रयास गर्ने अथवा नयाँ ढंगबाट प्रयास गर्ने अथवा नयाँ कुरालाई प्रयास गर्ने । तर प्रयास चैँ गर्ने । प्रयास गर्न चैँ छोड्नु हुदैन । प्रयास गरिरह्यो भने अवश्य नै सफल भइन्छ । यसलाई सम्भावनाको नियम पनि भन्न सकिन्छ । धेरै मानिसहरुको प्रयास नगर्ने बानी हुन्छ । कति जनाको चैँ एक दुई चोटि गर्ने अनि भनेको जस्तो भएन वा सफल भएन भने छोडिदिने बानी हुन्छ ।

के तपाईलाई आफैमा वा आफ्नो काममा वा आफ्नो आइडियामा भरोसा छ ? यदि छ भने तयारीको लागि प्रशस्त समय दिनुहोस् र त्यसलाई सफल पार्न धेरै प्रयास दिनुहोस् । यसको मतलब सफल नभएसम्म प्रयास गर्न नछोड्नुहोस् । रिच ड्याड पुर ड्याड पूस्तकका लेखक रोबर्ट कियोसाकी भन्छन् ः “१० वटा व्यवसायहरुमा ९ वटा व्यवसायहरु असफल हुन्छन् ।” यसको मतलब तपाईलाई सफल र अरबपति बनाउने व्यवसाय भेट्न पनि तपाईले कम्तिमा ९ वटा व्यवसायलाई प्रयास गरेको हुनुपर्छ । जुन व्यवसाय थाल्नुभयो, त्यो व्यवसाय असफल हुन पनि सक्छ । तर के एउटा व्यवसाय असफल भयो भनेर अब फेरि प्रयास नगर्ने ? होईन, पूनः प्रयास गर्न छोड्नुहुदैन ।

कोलोनेल स्यान्डर्सले आफुले तयार पारेको रेसिपी १००७ वटा रेस्टुरेण्टमा गएर देखाए । १००६ पटक उनको रेसिपीलाई मानिसहरुले तिरस्कार गरे । अझै उनले हार मानेनन् र १००७ औँ पटकको उनको प्रयास सफल भयो र के एफ सि को जन्म भयो । आज संसारमा १४५ राष्टहरुमा २५,००० भन्दा बढि के एफ सि को आउटलेटहरु छन् । ६५ बर्षको उमेरमा उनि अर्बपति बनेर रिटायर्ड भए । के हुन्थ्यो यदि उनले प्रयास नगरेको भए ?

तपाईले कति चोटि प्रयास गर्नुभयो । एक चोटि, दुई चोटी ? या प्रयास नै गर्नुभएन ? म तपाईलाई चुनौती दिन चाहन्छु प्रयास गरिहेर्नुहोस् । हामी एक पटकको असफलतामै आतिन्छौ, दुई चोटि असफल भयो भने अब कहिल्यै प्रयास नगर्ने बाचा गर्न हतार गर्छौ । तपाईको सपनालाई फेरि एकचोटि मौका दिनुहोस् । तपाईको दर्शनमा फेरि एक चोटि कदम चालिहेर्नुहोस् । हरेक असफलता पछिको प्रयासमा तपाई अलि बढि अनुभवि बन्नुहुनेछ । जोएस मेएर लेख्नुहुन्छ ः “फेरि शूरु गर्नलाई ढिला भएको छैन ।”

यदि मैले प्रयास गरिहेरेको भए सायद आज म कहाँ हुन्थे हुँला भनेर भविष्यमा पछुताउनुभन्दा बरु अहिले नै प्रयास गरिहेर्नुहोस् । तपाई के बन्न चाहनुहुन्छ, के गर्न चाहनुहुन्छ, के पाउन चाहनुहुन्छ ? प्रयास गरिहेर्नुहोस् । सायद त्यहि कुराले तपाईलाई पर्खिरहेको पनि हुन सक्छ । हुदैन होला नभन्नुहोस्, हुन्छ होला भन्नुहोस् । भएन भने नभन्नुहोस् भयो भने भन्नुहोस् ।
शमूएल बेकेट लेख्छन् ः “प्रयास गर्नुभयो ? असफल हुनुभयो ? केहि छैन, फेरि प्रयास गर्नुहोस्, फेरि असफल हुनुहोस् । राम्रोसंग असफल हुनुहोस् । ”

प्राय धनी र सफल मानिसहरु गरिब र असफल मानिसहरु भन्दा धेरै पटक असफल भएका हुन्छन् । वास्तवमा उनिहरु असफल हुदाँ हुदाँ निरन्तरको प्रयासले नै सफल भएका हुन्छन् । असफल हुन डराउनुहुदैन । असफल हुन डराउनु भनेको जोखिम लिन डराउनु हो । जोखिम लिन डराउनु भनेको जिवनमा केहि ठुलो उपलब्धि प्राप्त नगर्ने चिन्ह हो ।

लडिन्छ कि भनेर एउटा बालकले हिड्न प्रयास गरेन भने के उसले कहिल्यै हिड्न सक्ला ? त्यसरी नै असफल होला कि अथवा नोक्सान होला कि भनेर प्रयास नै गर्नुभएन भने तपाईले सफलता कहिल्यै देख्नुहुनेछैन । असफल हुनु पनि पछिको लागि राम्रो लगानी हुन सक्छ । तपाईले हिम्मत नहार्नुभएसम्म असफल हुनु हार होईन । बरु जितको यात्राको एउटा भाग हो । म कहिल्यै असफल हुदिन, म कहिल्यै हार्दिन भनेर सोच्नुहुदैन । असफल हुदै, हार्दै, लड्दै, उठ्दै प्रयास गर्दै अगाडी बढ्न सिक्नुपर्छ ।

थोमस एल्भा एडिसनले १००० चोटी प्रयास गरेर बल्ब बनाएर संसारलाई उज्यालो पारे । जब एक पत्रकारले उनलाई तपाई त १००० चोटि असफल हुनुभयो नि भनेर प्रश्न गर्दा उनले यसरी उत्तर दिए ः म १००० चोटि असफल भएको होईन । बल्ब कसरी बन्दैन भन्ने ९९९ वटा तरिका मलाई थाहा भयो अनि १००० औँ कदममा बल्ल बल्ब तयार भयो ।

जोन सि. म्याक्सवेलले भनेका छन् “कहिलेकाही हामी जित्छौ कहिलेकाही हामी सिक्छौ ।” धेरैले सोच्ने गर्छ कि कहिल्यैकाही हामी जित्छौ, कहिल्यैकाही हामी हार्छौ । होइन प्रयास निरन्तर जारी भईरहेसम्म हामी कहिल्यै हार्दैनौ ।

बाइबलमा दाउदले गोल्यातलाई मारेको एउटा रमाईले घटना छ । गोल्यातसंग लड्न जान दाउदले ५ वटा चिल्ला चिल्ला ढ्ंगा लिन्छन् । पछि एउटै ढुंगाले उनले गोल्यातलाई मार्न उनि सफल हुन्छन् । तर उनको सानो झोलामा अरु बाँकी ४ वटा ढुंगा थियो । यदि पहिलोले नलागेको भए अथवा पहिलो ढुंगाले गोल्यात नमरेको भए उनले अर्को ढुंगाले पूःन प्रयास गर्थे । सायद पूनः प्रयास गर्न कै लागि उनले ५ वटा ढुंगा टिपेर झोलामा हाले ।

शूरुमा गाह्रो लागेको वा अनुभव नभएको काम पनि धेरै चोटिको प्रयासले सजिलो र अनुभवी बनाउछ । पछिको प्रयासमा तपाईलाई पहिलाको भन्दा निकै नै सजिलो हुनेछ । प्रयास नगर्न र जोखिम नलिन चैँ डराउनुहोस् , पूनः प्रयास गर्न र जोखिम लिन नडराउनुहोस् । कसैले यसरी भनेका छन् ः जोखिम नलिनु झन् ठुलो जोखिम हो ।

प्रतिक्रिया दिनुहोस्