
चुनावी कार्यक्रममा गोरखा कांग्रेस : चुनावी गतिविधिलाई तिब्र बनाउने क्षेत्रीय समितिको निर्णय
तस्विर ः क्षेत्रीय कोषाध्यक्ष गुरुङ
नेपाली कांग्रेस गोरखा क्षेत्र नं. १ को क्षेत्रीय समितिले आसन्न चुनाव केन्द्रित गतिविधिलाई तिब्रता दिने निर्णय गरेको छ । विहिबार सम्पन्न क्षेत्रीय समितिको बैठकले वैशाख ३० गते हुने चुनाव लक्षित कार्यक्रमलाई तिब्रता दिने निर्णय गरेको क्षेत्रीय सचिव शरण श्रेष्ठले जानकारी दिए ।
‘आउँदो चुनाव केन्द्रित विभिन्न कार्यक्रम गर्ने निर्णय भएको छ’, उनले भने, ‘चुनावी कार्यक्रम गर्न मोबाइल टोली गठन गर्ने, चुनावी गतिविधिलाई तिब्रता दिन तथ्यांक संकलन समिति गठन गर्ने निर्णय भएको छ ।’
साथै बैठकले प्रचार प्रसार कार्यक्रमलाई अझै तिब्रता दिन आउँदो २० गतेभित्र क्षेत्र नं. १ मा रहेका सातवटै पालिकास्तरको काठमाडौँ सम्पर्क समिति गठन गर्ने निर्णय भएको छ । प्रत्येक वडाबाट वडा सभापतिसहित दुई जना पर्ने गरी पालिका र काठमाडौँ जोड्ने संपर्क समिति गठन गर्ने निर्णय भएको उनले बताए ।
बैठकले क्षेत्रीय कार्यसमितिको कोषाध्यक्ष पनि चयन गरेको छ । धार्चे ७ लापुका गणेश गुरुङलाई क्षेत्रीय समितिको कोषाध्यक्षमा चयन गरेको क्षेत्रीय समितिका सचिव शरण श्रेष्ठले जानकारी दिए । ‘सात सदस्यीय कार्य सम्पादन समिति पनि गठन भएको छ’, उनले भने, ‘कार्य सम्पादन समितिमा सञ्जिव पुडासैनी, राजन श्रेष्ठ, वन्दना लामिछाने, सुनील लामिछाने, भाइकाजी आले, डम्बरबहादुर श्रेष्ठ र गीता दाहाल रहनुभएको छ ।’




