| सोमवार, कार्तिक २३, २०८३

इकाई प्रमुख नहुँदा बूढीगण्डकी डुबान क्षेत्रको घरगोठको मूआब्जा निर्धारण अन्यौल

बूढीगण्डकी जलविद्यूत आयोजना वातावरण मुआब्जा पुर्नबास तथा पुर्नस्थापना इकाई प्रमुख बिहिन हुँदा मुआब्जा निर्धारण अन्यौल भएको छ । यसअघिका इकाई प्रमुख कृष्णबहादुर कार्कीलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओ नियुक्त गरेपछि इकाई कार्यालय प्रमुख बिहिन बनेको छ ।

इकाई कार्यालय प्रमुखबिहिन हुँदा अन्तिम तयारीमा रहेको बूढीगण्डकी डुबान क्षेत्रको घरगोठ, बोटबिरुवा, फलफुलको मुआब्जा निर्धारण ढिला हुन पुगेको हो । ‘हामीले मुआब्जा फागुन दोस्रो हप्तासम्म तोक्ने भनेका थियौँ’, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने, ‘इकाई प्रमुखको सरुवा र अहिलेसम्म रिक्त हुँदा समस्या भयो ।’

घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारणका बारेमा गोरखा र धादिङको छलफल सकेकै दिन कार्कीलाई नेप्सेमा लैजाने सरकारले निर्णय गरेको थियो । ‘नयाँ इकाई प्रमुख आउनुभएको भए पनि छलफल र निर्धारणको प्रक्रिया अघि बढ्थ्यो’, प्रजिअ आचार्यले भने, ‘पहिलो पटक छलफल भएको दिनदेखि अर्को बैठक बस्न सकेको छैन ।’

कार्की सो इकाइ कार्यालय स्थापना भएदेखि केहीदिन अघिसम्म कार्यरत थिए । उनी घरगोठ बोटबिरुवाको मुआब्जा चालुवर्ष बिनियोजित बजेटबाट बाँड्ने तयारीमा थिए ।

सेवाबाट निवृत्त भए पनि सरकारले उनलाई करारमा नियुक्त गरी सोही पदमा थमौति गरेको थियो । तर एकाएक कार्कीको सरुवाले मुआब्जा निर्धारणमा गोरखा र धादीङका प्रजिअले आँट गर्न सकेका छैनन् । प्रमुख जिल्ला अधिकारीलाई मुआब्जा निर्धारणबारे सहजिकरण गर्ने इकाई प्रमुख नहुँदा थप अन्यौलमा इकाई कार्यालय पुगेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले मुआब्जा निर्धारण गर्दा ह«ासकट्टी नगर्ने निर्णयले थप सजिलो भएको बताउँदै भने, ‘भुकम्पमा दुई लाख सरकारले दिएर बनेका घरको मुआब्जा दिँदा पहिलो दिएको रकम कट्टा गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय आएको छैन ।’ मुआब्जा निर्धारण र बितरण गर्दा यो निर्णय पनि उर्जा मन्त्रालयबाट आउनुपर्ने उनले बताए ।

‘इकाई प्रमुख रिक्त छ’, आयोजना कार्यालयका इन्जिनियर रितेश रावलले भने, ‘उहाँ गएपछि मुआब्जा निर्धारणको कुनै काम अघि बढेको छैन ।’ दुबै जिल्लाका प्रमुखहरु एकै ठाउँमा बैठक बस्ने तयारी गरेपनि बैठक भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्