
स्थानीय तह निर्वाचन : आयोगले गर्यो आजदेखि दल दर्ताको आह्वान, के प्रावधान ?
निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ। आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जानकारी दिएको छ। आयोगमा १ सय ६ वटा दल दर्ता भएपनि यसअघि दर्ता भइसकेका राजनीतिक दलले पनि संवैधानिक व्यवस्था बमोजिम स्थानीय निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने निर्वाचन आयो गका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो। दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइड खुलाउनुपर्ने आयोजले जनाएको छ।
आयोगले निर्वाचन प्रयोजनाको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली, तथा घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रतिका कागजात पनि संलग्न गर्नुपर्नछ। यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेका तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
राजनीतिक दलको विधान बमोजिम कम्तीमा पाँच वर्षमा एकपटक सो दलको सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने सूचनामा उल्लेख छ। दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्ने बताइएको छ। साभारःअन्नपुर्णपोष्ट





