| सोमवार, कार्तिक २३, २०८३

अब गोरखा अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु

लामो समयको प्रतीक्षापछि गोरखा अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु भएको छ । १० बजेदेखि दुईबजेसम्मको नियमित सेवापछि पनि सेवा दिने उद्देश्यले अस्पतालको अतिरिक्त समयमा पनि स्वास्थ्य सेवा सुरु गरेको हो ।
दिउसो तीनबजेदेखि पाँचबजेसम्म विस्तारित स्वास्थ्य सेवा सुरु गरेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरि कुमार श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नयाँ भवनबाट सेवा सुरु गरेसँगै अस्पताल प्रशासनले जिल्लावासीलाई छिटो छरितो, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्न विस्तारित स्वास्थ्य सेवा सुरु गरिएको श्रेष्ठले बताए । विशेषज्ञ चिकित्सकसित विस्तारित स्वास्थ्य सेवामा सेवा लिन बिरामीले चारसय रुपैयाँको टिकट लिनु पर्ने व्यवस्था अस्पताल प्रशासनले गरेको छ ।

विस्तारित स्वास्थ्य सेवा उपलब्ध सेवा तथा शुल्क(तालिका)

No description available.


जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि जारी गरेको थियो । सोही कार्यविधिमा नियमित समयबाहेक अतिरिक्त समयमा सोही स्वास्थ्य संस्थाबाट निश्चित रकम तिरेर सेवा लिन सकिने गरी उल्लेख गरिएको छ । सो कार्यविधिमा चिकित्सकको परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके अनुसार हुने र अन्य सेवा शुल्कमा भने नियमित समयको भन्दा २ सय प्रतिशतसम्म बढाएर लिन पाउने उल्लेख छ । यो शुल्क विस्तारित सेवामा मात्रै हो ।

विस्तारिक स्वास्थ्य सेवा लिनका लागि टिकट सिस्टम लागु गरिएको छ । गोरखा अस्पतालमा विस्तारित सेवा सुरुवाती चरणमा रहेकाले हाल टिकटको मूल्य चारसय राखिएको श्रेष्ठले बताए । कार्यविधिअनुसार विस्तारित समयमा काम गरेबापत आएको आम्दानी अर्थात टिकटबाट जम्मा भएको रकमको २० प्रतिशत अस्पताल विकास समितिको खातामा जाने र बाँकी रहेको ८० प्रतिशतलाई १०० प्रतिशत मानी ९० प्रतिशत चिकित्सक नर्स तथा सेवामा खटिएका स्वास्थ्यकर्मीको अतिरिक्त आम्दानी मानिने उल्लेख छ ।

बाँकी १० प्रतिशत भने प्रशासनतर्फका कर्मचारीको अतिरिक्त आम्दानी स्वरुप बाँडिने उल्लेख छ । विस्तारित सेवाका कारण चिकित्सकहरु अस्पतालमा टिक्ने अस्पताल प्रशासन विकास समितिले विश्वास लिएको छ । यो सेवा सार्वजनिक विदाको दिनमा भने बन्द रहने छ । अस्पतालमा विस्तारित सेवा सुरु भएपछि जिल्लाका बिरामी निजी स्वास्थ्य संस्थामा धाउन नपर्ने र सुपथ मूल्यमा विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने विकास समितिले विश्वास लिएको छ ।

गोरखा अस्पतालमा २०७५ सालबाट विस्तारित सेवा सुरु गर्र्ने भनिएता पनि भौतिक स्रोत साधन र चिकित्सकको अभावले गर्दा यही फागुन १ गतेबाट सुरु गरिएको गोरखा अस्पताले जनाएको छ ।

No description available.
No description available.

त्यस्तै, अस्पतालले यसअघिदेखि सञ्चालन गरेको नियमित स्वास्थ्य सेवा शुल्कमा वृद्धि गरेको जनाएको छ । हाल ओपिडी टिकटको मूल्य बढाएर ३० रुपैया बनाएको छ । इमरजेन्सी र भर्नाशुल्क रु ५०÷५०, बेड चार्ज रु एकसय, एचडियु बेडचार्ज पाँचसय रुपैयाँ र क्याविन रुमको रु पन्द्रसय तोकिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, ल्याव सेवा र थाइराइड टेस्ट सेवा पनि संचालनको तयारीमा रहेको उनले बताए । आइसियू सेवा भने आवश्यक पुर्वाधार रजनशक्ति नहुँदा संचालनमा ल्याउन नसकिएको उनले बताए । गोरखा अस्पतालमा हाल ५९ जनाको दरबन्दी रहेकामा २७ जनाको पद रिक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्