
आसन्न निर्वाचनका उमेद्वारबारे गोरखाका कांग्रेस र एमालेमा छलफल सुरु
आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेद्वार छनौट गर्ने प्रक्रियाका बारेमा गोरखाका कांग्रेस र एमालेभित्र छलफल सुरु भएको छ ।
निर्वाचनबारे छलफल गर्न दुवै पार्टीको जिल्ला कार्यसमितिले सोमवार बैठक आयोजना गरेको छ । नेपाली कांग्रेसको बैठकमा कस्ता ब्यक्तिलाई टिकट दिने, कुन (कुन मापदण्ड बनाएर उम्मेद्वार छनौट गर्ने भन्ने विषयमा छलफल भएको जिल्ला सचिव किशोरजंग थापाले बताए ।
‘नेतापट्टि हैन, जनतापट्टि फर्किएकाहरुलाई टिकट दिने निश्कर्ष निकालिएको छ’, जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘नागरिकको पक्षमा काम गर्ने, कार्य सम्पादनमा सक्षम, पार्टीको नीति, सिद्धान्तलाई ध्यान दिने उम्मेदवार चयन गर्ने भनेर निचोड निकालिएको छ ।’
बैठकले निर्वाचन लक्षित पार्टीको कार्यक्रम तय गर्ने, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि सबैलाई गाउँगाउँमा खटाउने निर्णय गरेको छ ।
सकेसम्म सबैको सहमति जुटाएर टिकट दिने, नसके वडा, पालिका स्तरमा छलफल गरेर जित्ने उम्मेद्वार चयन गर्ने विषयमा छलफल केन्द्रित रहेको जिल्ला सचिव थापाले बताए । ‘उम्मेद्वार छान्न कुन मापदण्ड बनाउने भन्ने विषयमा छलफल भएको थियो । तर आजको बैठकले टुंगो लगाउन सकेको छैन ।’
सरकारले २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गोरखाका राजनीतिक दलहरु बीच उम्मेद्वार चयनका बारेमा आन्तरिक चर्चा हुन थालेको छ । चोक र चिया पसलहरुमा पनि उम्मेदवारको चर्चा सुनिन्छ ।
त्यस्तै गत निर्वाचनमा बिजयी भएका जनप्रतिनिधिसँग पाँच वर्षमा गरेका कामको प्रगतिबारे जानकारी लिने कांग्रेसले जनाएको छ । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका वडादेखि क्षेत्रीय समितिका पदाधिकारी, पार्टीका भातृ तथा शुभेच्छुक संगठनसँग छलफल गर्ने कार्यक्रम तय भएको सचिव थापाले बताए । फागुन ७ देखि १० गते छलफल तथा चुनावी एजेण्डाको बारेमा कांग्रेसले बैठक राखेको जनाएको छ । ‘कांग्रेस गोरखाको घोषणा पत्र तयार गर्ने निर्णय पनि गरेको छ’, सचिव थापाले भने, ‘तालमेलका लागि अन्य दलहरुसँग छलफलका लागि सभापतिलाई जिम्मेवारी दिइएको छ ।’
त्यस्तै नेकपा एमाले गोरखाले निर्वाचन केन्द्रीत अभियान संचालन गरिरहेका जनाएको छ । माघ २६ गतेदेखि जिल्लाभरका सबै स्थानीय तहमा पार्टी कमिटिले संगठन सुदृढिकरण, स्थानीय तहको प्रशिक्षण भेला बैठक संचालन गरिरहेको जिल्ला सचिव काजिराम रोकाले बताए ।
सोमवार भएको एमाले गोरखाको दोस्रो पूर्ण बैठकमा नेताहरुले अब स्थानीय तहको निर्वाचन लक्षित गतिविधि संचालन गर्न निर्देशन दिए । बैठक मंगलवार बिहान ८ बजेबाट पुन सुरु हुने उनले बताए । ‘सोमवार बैठक सकिएन, बाँकी विषयमा मंगलवार छलफल हुनेछ’, सचिव रोकाले भने ।
जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज मायानाथ अधिकारी, गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेत, सहइन्चार्ज सम्झना देबकोटा, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिवालय सदस्य बाबुराम थापा, सुरेन्द्र थापा लगायतले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।
मंगलवारको बैठकमा सचिवालय गठन, सल्हाकार कमिटि गठन, कार्यक्षेत्र बिभाजन, निर्वाचन केन्द्रित योजना बनाईने उनले जानकारी दिए । ‘जिल्ला अधिवेशनको आर्थिक, सांगठनिक राजनीतिक प्रतिवेदनमाथि छलफल पनि मंगलवार हुनेछ’ उनले भने ।




