
माछाखोलासम्म पहिलो पटक बस सेवा सुरु
नेपाली सेनाले निर्माण गरेको गोरखाको सोतीदेखि माछाखोलाबजारसम्मको सडकमा पहिलो पटक बससेवा सुरु भएको छ ।
दुर्गम धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजारसम्म आइतबारदेखि बससेवा सुरु गरिएको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।
गाउँसभाको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखा र नेपाली सेनाको सडक निर्माण कार्यदलसँग समन्वय गरी गोरखादेखि माछाखोलासम्मको ६८ किलोमिटर सो सडकमा दरौँदी गोरखा यातायात सेवा प्रालिको बससेवा सुरु गरेको उनले बताए ।
एकसय चार वर्षकी पुर्नी गुरुङले चालक रामशरण गोतामे र दरौँदी यातायात प्रालिका सञ्चालकहरुलाई फूल माला, अबिर लगाएर बससेवा सुरु गरेको उनले बताए । माछाखोलाका स्थानीय, राजनीतिक दलका नेता, समाजिक अगुवाहरु उक्त कार्यक्रममा उपस्थित थिए ।
गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले रिबन काटेर बस सेवा शुभारम्भ गरेका हुन् । ग १ ख ९४४० नम्बरको बस माछाखोलाबाट आईतवार बिहान ८ बजे गोरखाको लागि छुटेको दरौँदी यातायात सेवा प्रालिका कोषाध्यक्ष शरण गुरुङले बताए ।
‘सेनाले २०७४ सालमा सडक निर्माण भएको हो । अहिलेसम्म जीप मात्र चल्थ्यो । बस सञ्चालन नहुँदा यात्रुले धेरै भाडा तिर्नु परिरहेको थियो’, गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘त्यसैले बस संचालन गर्न गाउँपालिकाबासीको जोडदार माग थियो । नेपाली सेनाले खोलेको बाटो भएकाले हामीलाई तत्काल बस चलाउन समस्या थियो । बल्लतल्ल जिल्ला प्रशासन, नेपाली सेनासँग समन्वय गरी दरौँदी यातायात सेवा प्रालिलाई अनुरोध गरेर बस सेवा सुरु गर्न सफल भइयो ।’

बस संचालन हुनुअघि सोतीदेखि माछाखोलाको १२ किलोमिटर सडकमा जिपले पाँच सय रुपैयाँ भाडा लिने गरेको थियो । बससेवा सुरु भएपछि सस्तो भाडामा यात्रा गर्न पाएका छन् । ‘अहिले माछाखोलादेखि सोतीसम्म जम्मा एकसय रुपैयाँमा सेवा सञ्चालन भएको छ’, उनले भने, ‘क्षमता भन्दा धेरै यात्रु राखेर जीपमा जोखिमपूर्ण यात्रु गर्नुपर्ने बाध्यता टरेको भन्दै गाउँपालिकाबासी खुशी भएका छन् ।’
गोरखा सदरमुकामदेखि माछाखोलासम्म बसको भाडा पाँचसय ५० रुपैयाँ कायम गरिएको छ । डिलक्स बसमा भने यो भन्दा २० प्रतिशत बढी तिर्नुपर्ने दरौँदी यातायात सेवा प्रालीका अध्यक्ष नारायण खत्रीले बताए । बिहान माछाखोलादेखि गोरखा बजारसम्म गाडी छुट्नेछ भने दिउँसो माछाखोलादेखि आरुघाटसम्म गाडी छुट्नेछ । राती माछाखोला काठमाण्डौँका लागि दुईवटा बस छुट्ने अध्यक्ष खत्रीले बताए । ‘केहीदिनपछि रात्री बससेवा पनि सञ्चालन हुनेछ’ उनले भने ‘अर्को एउटा बस रात्रीसेवाका लागि थप्ने तयारमा छौँ ।’
गोरखादेखि आरुघाट ४२ किलोमिटर, आरुघाट सोती १२ र सोतीदेखि माछाखोला १२ किलोमिटर दुरीमा पर्छ । सबै प्रक्रिया पूरा गरी सवारी संचालन गर्न मिल्ने सडक भएकाले अनुगमन गरेर सेवा थलिएको अध्यक्ष खत्रीले बताए । हावाडाँडादेखि माछाखोला सम्मको करिब ११ किलोमिटर सडक नेपाली सेनाले ट्रयाक खोलेको हो । अहिले सिर्दिबास सम्म ट्रयाक खुलेको छ भने दोभानसम्म जिपमा सहजै यात्र गर्न सकिने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
माछाखोलाबाट बस सेवा सुरु भएसँगै धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका स्थानीय तथा प्रसिद्ध मनास्लु क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई आउजाउ गर्न सजिलो हुनेछ । दैनिक उपभोग्य सामग्री लगायतका खाद्यान्न ढुवानीका काममा पनि सहज हुने भन्दै त्यस क्षेत्रका स्थानीय खुसी छन् ।




