
धार्चे र चुमनुब्रीलाई छुट्टै जिल्ला बनाउने सर्वदलीय बैठकको निर्णय
गोरखाको धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका छुट्टै जिल्ला बनाउन माग गर्ने स्थानीयस्तरको राजनीतिक पार्टीहरुको संयुक्त बैठकले निर्णय गरेको छ ।
दुबै गाउँपालिकामा शनिवार सम्पन्न भएको सर्वदलीय बैठकबाट उत्तरी क्षेत्रको समग्र विकासका लागि छुट्टै जिल्ला आवश्यक रहेको राजनीतिक दलका नेताहरु, जनप्रतिनिधि, सामाजिक अगुवाहरुको बैठकले निश्कर्ष निकालेको हो ।
बैठकले दुई गाउँपालिकालाई अलग्गै जिल्ला बनाउने पहलका लागि समन्वय समिति गठन गरेको छ । धार्चे गाउँपालिकामा विश्व गुरुङको संयोजकत्वमा चार सदस्यीय र चुमनुब्रीमा गणेश कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको गणेश कार्कीले बताए ।
भौगोलिक हिसाबले धार्चे र चुमनुब्रीले ५० प्रतिशत भन्दा धेरै भुगोल ओगटेको भएपनि त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास राम्रोसँग हुन नसकेको ठहर स्थानीयको छ ।
‘हामीले अब धार्चे र चुमनुब्रीलाई छुट्टै जिल्ला बनाउने निर्णयसँगै त्यसका लागि लबिङ थाल्नेछौँ’ धार्चे तर्फका संयोजक विश्व गुरुङले भने । भाषा, संस्कृति, स्वास्थ्य, शैक्षिक, सामाजिक क्षेत्रको विकासका लागि चुमनुब्री र धार्चेलाई छुट्टै जिल्ला बनाउनुपर्नेमा उनले जोड दिए ।
‘अहिले बिकास तल्लो क्षेत्रमा केन्द्रित छ’ उनले भने ‘माथिल्लो क्षेत्रका मानिसको पहुँच सरकार सम्म छैन, त्यसैले पनि यहाँ छुट्टै जिल्ला हुनुपर्छ ।’ यी दुई पालिका हिमाली क्षेत्र पर्ने भएपनि गोरखा पहाडी जिल्लाको रुपमा छ । अहिलेसम्म चुमनुब्रीमा सडक सञ्जाल जोडिएको छैन । धार्चे र चुमनुब्रीलाई समेटेर छुट्टै हिमाली जिल्ला कायम गर्नुपर्ने माग स्थानीयको छ ।
केही समयअघि पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले धार्चे गाउँपालिकामा आयोजित कार्यक्रमा उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएसँगै पछिल्लो समय फेरि यो बहस सुरु भएको हो ।
त्यस क्षेत्रका सबै राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका अगुवा उत्तरी गोरखाको विकास, समृद्धिका लागि छुट्टै जिल्ला बनाउनुपर्ने पक्षमा छन् ।




