| बिहिबार, असार १०, २०८३

धार्चेमा पनि मनास्लु संरक्षण क्षेत्र बिस्तार गर्न माग

गोरखाको धार्चे गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को सेवाक्षेत्र बिस्तारको माग गरेको छ । यसअघि चुमनुब्री गाउँपालिकामा मात्रै कार्यक्रम संचालन गर्दै आएको एमक्यापलाई धार्चेमा पनि सेवा क्षेत्र विस्तार गर्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
धार्चे गाउँपालिकाले पनि एकक्यापको कार्यक्षेत्र बिस्तारका लागि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागलाई पत्राचार गरेको छ । गाउँ कार्यपालिकाबाट निर्णय गरेर धार्चे गाउँपालिकामा पनि मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यक्रम संचालनका लागि अनुरोध गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

‘चुमनुब्री र धार्चेको हावापानी, प्राकृतिक संम्पदा मिल्दोजुल्दो छ, बन बतावरण र स्थानीयको रहनसहन पनि मिल्ने भएकाले एमक्यापको कार्यक्षेत्र १० वर्षको लागि बिस्तार गर्न माग गरेका हौँ’ उनले भने ।

धार्चे मनास्लु पर्यटन बिकास समितिले पनि धार्चे गाउँपालिकामा एमक्यापको कार्यक्षेत्र बिस्तारका लागि भन्दै वन तथा वातावरण मन्त्रालयमा पत्राचार गरेको अध्यक्ष साने गुरुङले बताए । ‘मनास्लु संरक्षण क्षेत्र आयोजनाको संरक्षण भित्र रह्यो भने धार्चेको वातावरण, बन, पर्यटन, स्थानीयको संस्कृती लगायतको प्रर्वद्धन हुनेछ’ उनले भने ।

मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाका प्रमुख सत्यनारायण शाहाले धार्चे गाउँपालिकाबाट क्षेत्र बिस्तारको लागि माग भएपछि राष्टिूय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागमा जानकारी गराईएको बताए । ‘हामीले अनुरोध गरेका छौँ’ उनले भने ‘सायद धार्चे गाउँपालिका पनि कार्यक्षेत्र बिस्तार हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्