| सोमवार, कार्तिक २३, २०८३

सिर्दिबास खाद्य डिपोमा दुईहजार क्विन्टल चामल ढुवानी

उत्तरी गोरखाको सिर्दिबास खाद्य डिपोमा दुई हजार क्विन्टल चामल ढुवानी भएको छ । चालु वर्ष दुई क्विन्टल चामल ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले जनाएको छ । आ.व २०७८÷७९ को लागी स्वीकृत दुईहजार क्विन्टल खाद्यान्न ढुवानी भइसकेको कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए ।

‘सिर्दिबासको लागि यस वर्ष गोरखा शाखाबाट दुई हजार क्विन्टल र विमल नगर डिपोबाट पन्ध्र सय क्विन्टल गरी जम्मा तीनहजार पाँचसय क्विन्टल कोटा स्विकृत भएको थियो । यस मध्य हाम्रो कार्यालयबाट सबै चामल पुगिसक्यो । विमलनगरबाट पनि एक दुई दिनमै चामल ढुवानी काम सुरु हुन्छ’ उनले भने ।
सोना मन्सुली चामल एकहजार ९१ क्विन्टल ६० केजी, स्टिम जिरा मसिनो चामल ६३० क्विन्टल, अरुवा मध्यम चामल ४२ क्विन्टल ९० केजि, अरुवा मकवानपुर २३५ क्विन्टल ५० केजि गरी जम्मा दुई हजार क्विन्टल खाद्यान्न डिपो सिर्दिबास पु¥याईसकिएको कम्पनीका सुचना अधिकारी सुनारले जानकारी दिए ।

गोरखा शाखा र विमलनगर दुवैबाट ढुवानीको लागी सुशान्ति निर्माण सेवाले ठेक्का पाएको थियो । विमलनगरबाट पनि ढुवानी कार्य छिट्टै सुरु हुने कम्पनीका शाखा प्रमुख नबिन बस्नेतले बताए ।

त्यस्तै, डिपोमा पुगेका चामल पनि धमाधम बिक्री भईरहेको उनी बताउँछन् । उनले भने, ‘सिर्दिबास डिपोबाट हालसम्म ५५४ क्विन्टल ५० केजी खाद्यान्न बिक्री भईसकेको छ । अव डिपोमा एकहजार चारसय ४५ क्विन्टल ५० क्विन्टल खाद्यान्न मौज्दात रहेको छ ।’ कम्पनीले डिपोमा सोना मन्सुली चामल प्रति केजि.रु ५२ , अरुवा मध्यम प्रतिकेजि रु ५२ , अरुवा मकवानपुर प्रतिकेजि रु ५०, स्टिम जिरा मसिनो चामल प्रति केजि रु ६६ मा बिक्री गरिरहेका उनले बताए ।

कम्पनीमा यसवर्ष दुई पटकको बोलपत्र आव्हान रद्ध भएर तेस्रो पटक पुसमा ठेक्का लागेको थियो । पौष २५ मा सम्झौता भएपनि यति छिटो खाद्यान्न ढुवानी सम्पन्न हुनुमा ठेकेदार कम्पनीको ठूलो भूमिका रहेको कम्पनीका शाखा प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्