
माछाखोलासम्म बस चलाउने योजना नरोकियोस्
गोरखाको सोतीदेखि माछाखोलासम्म सडक सञ्जाल जोडिएको छ । हावाडाँडादेखि नेपाली सेनाले निर्माण गरेको उक्त सडकमा दुईवर्षयता सवारी साधन संचालित छ । माछाखोलादेखि निजी र भाडाका साना सवारी सहजै आउजाउ गरिरहेका छन् । तर यात्रुबाहक बस संचालन गर्न भने रोक लगाइएको छ । त्यहाँ यात्रुबाहक बस संचालन नहुँदा सर्वसाधारणले महँगो र कष्टकर सेवा लिनुपर्ने बाध्यता छ ।
यस अघिपनि पटक–पटक माछाखोला सम्म यात्रुबाहक बस संचालन गर्ने बारे यातायात ब्यवशायी, गाउँपालिका, नेपाली सेना बिच छलफल भएको थियो । छलफल भएपनि सेवा सुरु हुन सकेको थिएन । फागुन १ गतेबाट बस सेवा दिने गरी दरौँदी यातायात सेवा प्राली र गाउँपालिका बिच सम्झौता नै भएको छ । अहिले सोती सम्म बस सेवा संचालन हुँदै आएकोमा अब माछाखोला सम्म सेवा चल्नेछ । सोतीदेखि माछाखोला सम्मको सडक ठुलाठुला पहाड फोडेर लगिएको छ । बूढीगण्डकीको तिरतिरैको उक्त सडक अहिले यात्रुबस संचालन गर्न मिल्ने खालको बनेको ब्यवशायीले बताएका छन् ।
बस सेवा दिने योजना सहित केही समय अघि ब्यवशायी अनुगमनमा पनि पुगेका थिए । अन्ततः गाउँपालिका र यातायात प्राली बिच सेवा सुरु गर्ने सहमती भएको हो । यातायात सेवा सुरु गर्दैगर्दा जिल्ला प्रशासन कार्यालयले माछाखोला सम्म रुट कायम गर्नुपर्छ । रुट कायम हुन बाँकी छ । नेपाली सेनाले लार्के सम्म सडक लैजाने योजना सहित टूयाक खनिरहेको उक्त खण्डमा आर्मीको स्विकृत वा सरकारको अनुमती पनि आवश्यक पर्न सक्छ ।
सबै पक्षसँग समन्वय र सहकार्यमा तत्काल माछाखोला सम्मको सडकमा यात्रुबाहक बस चलाउनुपर्छ । बस चलेपछि एक सय ५० रुपैयाँमा यात्रु आउजाउ गर्न पाउँछन् । अहिले यात्रुले जिपचालकलाई पाँच सय रुपैयाँ सम्म बुझाउनुपरेको छ । यसले धार्चे र चुमनुब्रीका सर्वसाधारणलाई निकै सहज हुनेछ । जनताको सेवा र सजिलोका लागि निर्माण भईसकेको सडक बन्द गरेर राख्नु भन्दा बस चलाउनु उपयुक्त र अत्यावश्यक छ ।




