आप्रवासी स्रोत केन्द्रमा बैदेशिक रोजगारी सम्बन्धी उजुरी बढ्दो
गोरखाको आप्रवासी स्रोत केन्द्रमा बैदेशिक रोजगारी संम्बन्धी उजुरी बढ्न थालेको छ । एकीकरण नेपालले संचालन गरेको सुरक्षित आप्रबासन (सामी) परियोजनाको आप्रवासी स्रोत केन्द्रमा गोरखा नगरपालिकाको २४, पालुङटार नगरपालिकाका १५, बारपाक सुलिकोट गाउँपालिकाको ११ र शहिदलखन गाउँपालिकाका १२ वटा मुद्धाहरु दर्ता भएका छन् ।
परियोजनाले बिभिन्न १४ वटा मुद्धामा आर्थिक सहायता क्षतिपूर्ति उपलब्ध गराएको संयोजक चन्द्र देबकोटाले बताए । अहिलेसम्म छ हजार एक सय ६३ जनालाई सुचना प्रवाह गरेको छ । बिभिन्न पालिकाका दुई सय ३७ जनालाई टेलिफोनमार्फत परामर्श दिइएको, ३८ जनालाई मनोसामाजिक परामर्श दिइएको देवकोटाले बताए । बिभिन्न १६ वटा मनोसामाजिक परामर्श कक्षा संचालन गरिएको छ ।
सामी परियोजना गोरखा नगरपालिका, पालुङटार, शहीदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिकामा संचालित छ । परियोजनाले गरेका गतिविधिको बारेमा सरोकारवालासँग अन्तक्र्रिया एवं छलफल कार्यक्रम भएको हो । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बैदेशिक रोजगार कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले सामी परियोजनाको बारेमा जानकारी गराएका थिए ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सामी परियोजना संचालन भएपछि बैदेशिक रोजगारीको क्षेत्रको समस्या, अवस्थाका बारेमा जानकारीसँगै सहयोग गर्ने अवसर मिलेको बताए । ‘हामीले तथ्याङ्क पनि संकलन गरिरहेका छौँ, नगरपालिका भित्रका को कुन देश गएका छन्, अवस्था के छ, परिवारको अवस्था के छ भन्ने पनि अब पहिचान हुन्छ ।’ यस्तो तथ्याङ्क संकलन भएपछि नगरपालिकालाई त्यस क्षेत्रमा नीति नियम र योजना बनाउन मद्धत पुग्ने बताए ।
गोरखा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले संघीय सरकार र गण्डकी प्रदेश सरकारले योजना र कार्यक्रममा वैदेशिक रोजगारको क्षेत्रमा ल्याएका नीति, योजना, कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
एकीकरण नेपालका निर्देशक हरी देबकोटाले सामी परियोजना गोरखाको सबै पालिकामा संचालन गर्ने हो भने बैदेशिक रोजगारीमा जानेहरुलाई सहज हुने र फर्केर आएकालाई पनि यहाँ नै केही गर्न प्रेरणा मिल्ने बताए । कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले संचार माध्यामको तर्फबाट बैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुरालाई उजागर गर्नुपर्ने, सबैलाई बुझाउन सक्नुपर्ने बताए ।




