
कानून परिपालनामा चुकेका पालिकाहरुप्रति
‘जसले आफूलाई जित्छ, उसले सबैलाई जित्छ’, भन्ने कथन आद्यात्मिक जगतमा चर्चित छ । अर्थात अरुलाई भन्दा आफूलाई नियन्त्रण गर्न कठिन हुन्छ भन्ने मान्यता छ ।
यसैको पुरक अर्को भनाइ पनि चलेको छ, ‘भगवान, मलाई आफ्नाबाट बचाऊ, दुश्मनसित लड्न आफै सक्षम छु ।’ अर्थात अरुभन्दा आफन्त र आफन्त भन्दा पनि आफैलाई सुधार्न कठिन हुन्छ ।
गाउँपालिका, नगरपालिका स्थानीय तह हुन् । नयाँ संविधानले निर्माण गरेको स्थानीय तह, स्थानीय सरकारको पर्याय हुन् । यसअघिका स्थानीय निकाय भन्दा स्थानीय तह धेरै अधिकारसम्पन्न हुन्छन् । उनीहरुमा बजेट, अख्तियारी र नीति नियम बनाउने, लागु गर्ने संविधान प्रदत्त अधिकार छ । यहाँनेर अर्को कथन पनि आउँछ, ‘मनुष्य अरुलाई शिक्षा दिन जति पनि जान्दछ, तर आफूमा लागु गर्न सक्दैन ।’
स्थानीय तहमा भएको छ, यस्तै । आफै नियम बनाउने, आफै कार्यान्वयन नगर्ने प्रवृत्ति बढ्दो छ । कार्यपालिका बैठक, सभा पनि निर्धारित समयमा गर्न असक्षम पालिकाहरु धेरै छन् । गोरखाकै सन्दर्भमा ११ वटा पालिका रहेको यहाँ ६ वटा पालिकाले मात्र हिउँदे सभा सम्पन्न गरेका छन् । सम्पन्न भएकाले पनि निर्धारित समयमा सम्पन्न गरेका छैनन् ।
असार १० गतेभित्र बजेट अधिवेशन र त्यसको छ महिनाभित्र अर्थात पुस मसान्तभित्र हिउँदे अधिवेशन गर्नुपर्ने कानूनी व्यवस्था छ ।
योअनुसार निर्धारित समय अथवा पुस मसान्तभित्र दुईवटा पालिकाले मात्र हिउँदे सभा सम्पन्न गरे, बाँकी चारवटाले सभा पुस मसान्तभित्र सम्पन्न गरेनन् ।
पालिका गाउँ सहरको सरकार हो । उसले कानूनको परिपालनामा उदाहरण प्रस्तुत गर्नुपर्छ । आफैले कानून कार्यान्वयनमा चुकेपछि अरुले कानून उल्लंघन गरे भन्ने आधार रहँदैन ।




