
बारपाक सुलिकोट गाउँपालिकाको दशौँ हिउँदे सभा सम्पन्न
बारपाक सुलिकोट गाउँपालिकाको दशौ हिउँदे सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षमा मंगलबार हिउँदे सभा सम्पन्न भएको हो ।
गाउँसभामा हाल कार्यान्वयनमा रहेको योजनाहरुको प्रगति समीक्षा, चालु आर्थिक वर्षको बजेट संशोधन गरिएको गाउँपालिका पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पनेरुले बताए । गाउँसभाबाट पाँच वटा विधेयक पारित भएको उनले जानकारी दिए ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) संचालन कार्यविधि, बारपाक सुलिकोट गाउँपालिकाको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधि २०७८, बारपाक सुलिकोट सामजिक समावेशीकरण नीति २०७८, बारपाक सुलिकोट गाउँपालिका विकास प्राधिकरणको स्थापना र संचालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र बारपाक सुकिलोट गाउँपालिका टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०७८ पारित भएको उनले जानकारी दिए ।
गाउँसभाको हिउँदे अधिवेशनबाट गाउँपालिका स्तरीय रंगशाला र अस्पातको भवनको पनि नामाकरण गरिएको छ । गाउँपालिका केन्द्र ताकुकोटमा बनाइरहेको रंगशालाको नाम शहिद आशाकाजी स्मृति नामाकरण गरियो र गाउँपालिकाको वडा ४ हँुडिफाडमा निर्माणाधिन १५ शैयाको अस्पतालको नाम शहीद प्रेम ढकाल स्मृति अस्पताल राख्ने निर्णय गरिएको उनले जानकारी दिए ।
पालिका अध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस गाउँपालिका सभापति जित बहादुर घले, नेकपा माओवादी गाउँपालिकाका अध्यक्ष नरबहादुर गुरुङ, जनता समाजवादी पालिका अध्यक्ष तेजबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




