| सोमवार, कार्तिक २३, २०८३

नयाँ रुपरंगमा लाप्राक

छबर्षको अन्तरालपछि यदि कोही अहिले गोरखाको लाप्राक गाउँ पुग्नु भएको छ भने यो गाउँ पनि पुरानै लाप्राक हो र ? भनेर अलमलमा पर्नुहुनेछ ।
छ बर्ष अघिको लाप्राकका घर लोटसल्लाको फलेकले छाइएका थिए । पाँचसय घरधुरी एकै ठाउँमा झुरुप्प थियो । फलेक चेप्न प्रयोग भएका ढुंगाले गाउँका सबै धुरीमा परेवा बसेजस्ता सुन्दर र रोचक देखिन्थ्यो ।

धार्चे गाउँपालिका ४ लाप्राकका ती घर २०७२ भूकम्पले कुनै पनि ठाडो रहेनन् । केही महिनाभित्रै स्थानीयबासीले घर पुननिर्माण गरे । भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माण गर्न सरकारले प्रति परिबार तीनलाख रुपैयाँ अनुदान दिएको थियो । लाप्राकबासीले त्यो अनुदान पनि नलिई पुरानै जगमा घर ठड्याए । अहिलेको लाप्राक नयाँ रुपरंगमा ब्युँतिएको छ । प्रत्येक घर रङ्गीन जस्तापाताले छाइएका छन् । जस्ताको रङ समान नभएकाले गाउँ रङ्गीचङ्गी देखिन्छ ।

‘ती फलेकले छाइएका घर त अब कहाँ पाउनु ?’, स्थानीय सुमन गुरुङ भन्छन्, ‘पहिले कुनैकुनै ढुंगाले छाएका घर पनि थिए । अहिले छैनन् ।’ फलेकले बारिएका, फलेकले छाएका घर मौसम अनुकूल हुने भएकाले अहिलेको भन्दा उत्तम रहेको उनको भनाइ छ । ‘यति धेरै घर बनाउन अहिले फलेक पनि पाइँदैन । गह्रुङ्गो हुने भएर ढुंगाको छाना पनि लगाउन छाडे’, उनी भन्छन्, ‘त्यसैले जस्ता सबैको रोजाइ बन्यो ।’

संगठित रुपमा पुनर्निर्माण नभएकाले घरको ढंग र ढाचा आफूखुशी भएको उनको भनाइ छ । काठका फलेक हरेक बर्ष ओल्टाइपल्टाइ गर्दा धुवाँले बलियो बनाउने स्थानीयको विश्वास छ । ‘यो बर्ष फलेक यता फर्कायो, अर्को बर्ष उता फर्कायो गर्दा धुवाँले फलेक २५, ३० बर्षसम्म सजिलै टिक्ने रहेछ । हिउँ पर्दा पनि उस्तो जाडो नहुने । अहिले जस्ताले धेरै चिसो हुनेरहेछ’, अर्का स्थानीय राज गुरुङ भन्छन्, ‘त्यसैले अहिले फलेकले छाना छाउन नसके पनि तल्लोतला ढुंगामाटोको गाह्रो लगाएका छन् । माथिल्लो तल्लामा फलेकले नै बारेका छन् ।’

लाप्राकका प्रत्येक घरमा सौचालय भने छैनन् । भूकम्पअघि सबै घरमा सौचालय निर्माण गरी खुल्लादिसामुक्त गाउँ घोषणा गरेको भए पनि भूकम्पले नष्ट गरेका सबै सौचालय ठडिन सकेका छैनन् । कतिपय घरमा खुल्ला सौचालय प्रचलनमा छन् । अहिले लाप्राकगाउँसम्म सडक सञ्जालले जोडेको छ । बारपाकदेखि लाप्राकसम्मको सो सडक स्तरोन्नति पनि भइरहेको छ ।

२०५६ सालको पहिरोले क्षतिग्रस्त बनाएको लाप्राकलाई भूकम्पका बेला झरेको पहिरोले पनि जोखिम बनायो । त्यसपछि सुरक्षितस्थलमा पुनस्थापित गर्न सरकारले गुप्सीपाखामा १८.३२ हेक्टर जग्गा उपलब्ध गरायो । सो ठाउँमा गैरआवासीय नेपालीहरुको संघ(एनआरएनए)ले ५७३ घर रहेको एकीकृत नमूना बस्ती निर्माण ग¥यो । गोलाप्रथाबाट घर हस्तान्तरण पनि भइसक्यो तर सो घर व्यवहारिक नभएको र हिउँ पर्ने ठाउँ भएकाले स्थानीयबासी त्यहाँ पुनस्थापित हुन मानेनन् । अहिले सबैजना पुरानै बस्तीमा छन् । एकीकृत बस्ती हिउँमा छोपिएर रहेको छ ।

स्वास्थ्यचौकी, विद्यालय, वडा कार्यालय एकीकृत बस्तीमा सञ्चालित छ तर मान्छे भने पुरानै गाउँमा छन् ।
पुरानो गाउँमा पुराना संस्कृति, परम्परा जीवितै छन् तर रुपरंग भने फेरिएको छ । सुविधा फेरिएका छन्

प्रतिक्रिया दिनुहोस्