| सोमवार, कार्तिक २३, २०८३

२१ बर्षीय बुढाको हत्या गरी फरार मल्ल ११ वर्षपछि गोरखा प्रहरीको फन्दामा

नेपालगञ्ज उपमहानगरपालिका १ का २१ वर्षीय हिमाल बुढाको हत्या गरी लामो समयदेखि फरार सोही नगरपालिका १० का ३३ वर्षीय सौभाग्य मल्ल गोरखाबाट पक्राउ परेका छन् । मल्ललाई शुक्रबार गोरखा नगरपालिका ६ पाटेचौरबाट पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए ।

बूढाको हत्या गरी फरार रहेका उनलाई गोरखामा रहेको मामा घरमा आएको विशेष सूचनाको आधारमा पक्राउ गरिएको दाहालले जानकारी दिए ।

बाँके जिल्लाको नेपालगञ्जबाट २०६७ माघ ०३ मा बुढालाई मल्लसहितको टोलीले अपहरण गरी फिरौती माग गरेको थियो । तर रकम प्राप्त नभएपछि उनको हत्या गरिएको प्रहरीले जनाएको छ । डिएसपी दाहालका अनुसार २०६७ माघ १४ बाँके जिल्लाको नौबस्ता–४ स्थित एक स्थानीयको घरमा बुढाको शव फेला परेको थियो ।

उनलाई बाँके जिल्ला अदालत र पुनरावेदन अदालतबाट अपहरण गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २९ बर्ष कैद सजाय तोकिएकोमा पछि सर्वोच्च अदालतबाट निजलाई २० बर्ष कैद कायम भएको प्रहरीले जनाएको छ ।

शुक्रबार गोरखाबाट पक्राउ परेका सौभाग्य मल्ल लामोसमय देखि भारतमा लुकीछुपी बस्दै आइरहेको बताइएको छ । नेपालमा पनि आफ्नो परिचय परिवर्तन गरी जगदीश सिंहको परिचय बनाई लुकीछुपी बस्दै आएको खुल्न आएको दाहालले बताए । पक्राउ परेका मल्ललाई आवश्यक न्यायिक प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बाँकेसंग समन्वय गरी शनिबार नै बाँकेबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको डिएसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्