| सोमवार, कार्तिक २३, २०८३

बर्षौँपछि यसपालि गोरखाको तल्लो भेगमा हिमपात

केहीदिनदेखि मौसम प्रतिकूल बन्दा उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ । बिहिवार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म नरोकिएको स्थानीयबासी बताउँछन् । चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोक, चुम्चेत, सिर्दिबासमा भारी हिमपात भएको छ ।

मध्य क्षेत्र धार्चे गाउँपालिकाको पनि अधिकांश ठाउँमा हिमपात भएको छ । लाप्राकको गुप्सीपाखा हिउँले ढपक्कै ढाकेको वडा अध्यक्ष राज गुरुङले बताए । २८०० मिटर अग्लो गुप्सीपाखामा दुई फिटसम्म हिउँ जमेको र शुक्रवार लाप्राक बेसीमा पनि हिउँ परेको उनले बताए ।
चुमनुब्री र धार्चेको गुप्सीपाखा हिउँ परिरहने ठाउँ हो । १९०० मिटर उचाइमा रहेको बारपाकका एघारसय घरधुरी हिउँले ढकमक्क ढाकेको स्थानीय जीतबहादुर घलेले जानकारी दिए ।

‘यो बर्षको पहिलो पटक आज हिउँ प¥यो’, घलेले भने, ‘युवाहरु हिउँ खेलेर रमाइरहेका छन् । बुढाबुढीहरु घरभित्रै आगो तापेर बसिरहेका छन् ।’ धेरै बाक्लो हिउँ नपरे पनि गाउँ सेताम्मे भएको उनले बताए ।

हिउँले बारीमा लगाइएको गहुँ र जौ राम्रो हुने भन्दै स्थानीयबासी खुशी भएको उनले बताए । साथै धार्चे गाउँपालिकाको ठूलो गाउँ लाप्राकमा पनि हिउँ परेको छ । २७०० मिटर उचाइको गुप्सीबस्तीमा एक महिनादेखि हिउँ जमेपनि तल्लो गाउँमा भने अहिले परेको स्थानीयले बताएका छन् ।

अजीरकोट गाउँपालिकाको सिरानडाँडा, नम्की र भच्चेक बजारसम्म पनि शुक्रबार पहिलो पटक हिउँ आएको स्थानीयले बताएका छन् ।
धार्चे गाउँपालिका वडा नं. १ हुल्चुक, २ को रुञ्चेत, केरौँजा, ३ को उहिया खोर्ला, वडा नं. ४ को लाप्राक, ५ को सिङ्ला, गुम्दा, यमगाउँ, लप्सीबोट ६ को काशिगाउँ, यार्सा र वडा नं. ७ को लापुसम्म पनि हिउँ परेको वडाअध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए । बिहानैदेखि हिउँ परेपछि स्थानीयबासी घरभित्रै आगो तापेर बसिरहेका उनले बताए ।

यस्तै अजिरकोट गाउँपालिकाको भच्चेक, नम्की, सिरानडाँडा, खरिबोट, सिस्ने, ओलाङमा पनि हिउँ परेको छ । शुक्रवार बिहानैदेखि हिउँ परेको स्वास्थ्यकर्मी सुमना श्रेष्ठले बताईन् ।

सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटमा पनि हिउँ परेको छ । ‘पहिले(पहिले कोटतिर हिउँ पथ्र्यो भन्ने सुनेको हो’, वडा अध्यक्ष सुरज ढकालले भने, ‘तर मैले यहाँ आरुबोटसम्म हिउँ परेको थाहा पाएको थिईन, अहिले हिउँले श्रीनाथमण्डली डाँडा सेताम्मै छ ।’

गोरखाको बिभिन्न ठाउँमा हिउँ परेको फोटो, भिडियो सामाजिक सञ्जालमा छपक्कै आउन थालेको छ । तल्लो क्षेत्रमा समान्य हिउँ परेकाले स्थानीयले रमाईलो मान्दै सामाजिक सञ्जालमा राखेका छन् भने उत्तरी गोरखामा चिसो अत्याधिक बढेको छ । ‘बिहिवारदेखि अहिले सम्म हिउँ परेको छ, चिसो धेरै बढ्यो’ चुमनुब्री ७ छेकम्पारका वडा अध्यक्ष पासाङ लामाले भने ‘मानिहरु घर भित्रै बसिरहेका छन् ।’ गोरखा सदरमुकाम लगायत आसपासको क्षेत्रमा पनि शुक्रवार बिहानै देखि वर्षात भएको छ । उत्तरी क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा चिसो हावा चलिरहेकाले अन्य दिन भन्दा जाडो महशुस गरिएको छ । बजार क्षेत्रमा पनि मानिसको चहलपहल शुक्रवार कम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्