
गोरखा नगरपालिकाद्वारा कर्मचारीलाई सम्मान
गोरखा नगरपालिकाले नवौँ नगर सभाको अवसर पारेर कर्मचारीलाई सम्मान गरेको छ । उत्कृष्ठ काम गर्ने कर्मचारीलाई नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।
नगद १० हजार सहित, प्रशंसा पत्र र दोशल्ला ओढाएर नगरप्रमुख राजनराज पन्त, उपप्रमुख बिनाकुमारी श्रेष्ठ र प्रशासकिय अधिकृत दिनेशराज पन्तले उत्कृष्ठ काम गर्नेहरुलाई सम्मान गरेका हुन् । छनौट समिति बनाएर नगरपालिकाले पुरस्कृत हुने कर्मचारी छानेको थियो ।
नगद सहित सम्मानित हुने कर्मचारीहरुमा जनस्वास्थ्य निरीक्षक रामकाजी श्रेष्ठ, वातावरण शाखाका धु्रब घिमिरे, स्रोत ब्यक्ति ध्रुब अर्याल, कृषि शाखाका प्रमुख नवीन अधिकारी, नायब सुब्बा चित्रबहादुर अधिकारी, सामाजिक विकास शाखाका शोभा प्रधान दवाडी, हेल्थ असिस्टेण्ट सबिना अधिकारी, अनमि मिरा खड्का, सव(इन्जिनियर आशिष श्रेष्ठ, सहायक लेखापाल पदमबहादुर थापा, वडा नम्बर ११ का सचिव प्रेमबहादुर बस्नेत, १३ का सचिव सञ्जय ढुङ्गाना, वडा नम्बर ७ का सचिव सरस्वती अधिकारी सम्मानित भएका हुन् ।
यस्तै चौकिदार मिनबहादुर थापा, कार्यालय सहयोगी भुवनबहादुर अधिकारी, दिपक आचार्य, गोमा कुँवर, रिता श्रेष्ठ, सवारी चालक पुतबहादुर गुरुङ, यमजंग थापा लगायतलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।
कर्मचारीको राम्रो कार्यसम्पादनको मूल्याङ्कन गर्दै कामप्रति थप जिम्मेवार बनाउन, राम्रो सेवा प्रवाह गर्न प्रेरित गर्न कर्मचारीलाई सम्मान गरिएको उनले बताए ।
कोभिडको बेला राम्रो काम गरेको र नगरपालिका प्रदेशमै उत्कृष्ठभित्र परेको भन्दै स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।




