
सांसद दवाडीको सरकारी तलवभत्ता समाजसेवामा
गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो सरकारी तलवभत्ता समाजसेवामा खर्चिँदै आएका छन् ।
गोरखा सदरमुकाममा शुक्रबार पत्रकारहरुसँगको भेटमा सांसद दवाडीले आफु सांसद भएको तलब र व्यक्तिगत पैसा समाजसेवामा खर्चिएका बताए ।
२०७७ पुसको पहिलो सातादेखि २०७८ पुस मसान्तसम्म प्राप्त तलव, भत्ता र बैंकले दिएको व्याजसहित ७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ र आफ्नो व्यक्तिगत पैसा गरी १३ लाख ६३ हजार ८ सय रुपैया समाजसेवामा नै खर्चिएको उनले जानकारी दिए । उनले भने, ‘मैले पाएको सेवा सुविधाभन्दा केही रकम थप गरेर सहयोग गरेको छु । कतिपय कोभिडका बिरामी छन् । उनीहरूको लागि अक्सिज सिलिण्डर किन्ने क्षमता हुँदैन । कतिपयलाई एम्बुलेन्स झिकाएर अस्पताल पु¥याउने गरेको छु । कतिपयलाई पठनपाठन र सुत्केरी महिलाको लागि पनि सहयोग गरेको छु ।’
जनताको समस्या पहिचान गरी आफ्नो सहयोगले घाउमा मल्हम लगाउने काम गरेको उनले बताए । सहयोग कसैलाई देखाउन नभई आत्मसन्तुष्टिका लागि गरिएको बताउदै सबै भन्दा धेरै खर्च औषधी र वितरणमा भएको दवाडीले जानकारी दिए । उनले सांसद भएको भोलिपल्ट नै आफूले पाउने सेवासुविधा जनताकै लागि खर्चिने घोषणा गरेका थिए ।
त्यसपछि हालसम्म आफूले पाएको सेवासुविधा समाजसेवामा नै खर्चिएको उनले बताए । यस्तो कामबारे उनले गत वर्ष पनि पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । राज्यलाई गाउँ–गाउँसम्म पु¥याउन र जिम्मेवार बनाउन पनि आफूले सहयोग गरेको उनले बताए ।




