
घरगोठको मुआब्जा तोक्न बूढीगण्डकी आयोजनाको सर्वपक्षीय छलफल
बूढीगण्डकी जलविद्यूत आयोजनाको डुवान क्षेत्रमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारण गर्न सर्वपक्षीय छलफल भएको छ । आयोजना कार्यालयले बिहिवार मुआब्जा निर्धारण समिति, गोरखाका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुसँग छलफल गरेको हो । छलफलमा संघीय सांसद, प्रदेश सांसद, गोरखास्थित राजनीतिक दलका नेता, मुआब्जा समिति, जनप्रतिनिधि लगायतको उपस्थिति थियो । शुक्रवार धादिङ जिल्लाको सरोकारवाला बीच छलफल हुनेछ ।
त्यसपछि दुबै जिल्लाको मुआब्जा निर्धारण समिति बसेर तत्काल मुआब्जा तोक्ने तयारी छ । आयोजना कार्यालयले मुआब्जाको दररेट सहितको सबै तयारी सकिसकेको जनाएको छ ।
तयार गरिएको प्रतिवेदन अनुसार आयोजना क्षेत्रमा मुआब्जा बितरण गर्ने फलफूलको प्रजाति ३० वटा रहेको छ भने बोटबिरुवा २२ प्रजातिका छन् । भवन २४ प्रकारको छ भने इट्टा, सिमेन्ट जोडाई भएका अन्य संरचना १९ प्रकारको छ । गोरखातर्फ संरचनाको संख्या १२ हजार छसय ६५ रहेको छ भने धादिङतर्फ ११ हजार आठसय ९९ गरी २४ हजार पाँचसय संरचनाको लागत संकलन भएको छ । घरगोठको मुआब्जा निर्धारण गर्नुअघि पुनछलफल गर्ने गरी बिहिबारको बैठकबिना निश्कर्ष टुङ्गिएको हो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा भएको बैठकमा गण्डकी प्रदेश सांसद लेखबहादुर थापा, शहीदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा, भीमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे, एमालेका जिल्ला उपाध्यक्ष कृष्ण नेपाली, कांग्रेसका जिल्ला सचिव कृष्ण आले, माओवादी केन्द्रका जगन्नाथ सिंखडा, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेत, जनता समाजवादीका अध्यक्ष यानप्रसाद भट्ट, नापी, मालपोत कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
ढिलोमा तीन साता भित्र मुआब्जा तोक्छौ“ : प्रजिअ आचार्य
‘उर्जा मन्त्रालयबाट घरगोठको मुआब्जा बितरण गर्दा ह्रासकट्टी नगरी वितरण गर्न पत्र आएको रहेछ’, मुआब्जा निर्धारण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने । घरटहरा, बोटबिरुवा, फलफूलको मुआब्जा निर्धारणको विषयमा बैठकमा छलफल भएको उनले बताए । ‘ढिलोमा फागुन पहिलो हप्ताभित्र मुआब्जा निर्धारण हुन्छ’ प्रजिअ आचार्यले भने ।
मुआब्जा निर्धारण समितिले यसअघि प्राविधिक समिति बनाएर तयार गरेको घरगोठ, बोटबिरुवा, फलफुलको मूल्यसुची आयोजनासँग छ । उक्त दररेटको बारेमा आयोजनाले जानकारी गराउन बाँकी रहेको प्रजिअ आचार्यले बताए । ‘अब गोरखा र धादिङको संयुक्त बैठक केही दिनपछि हुन्छ’, उनले भने, ‘प्राविधिक समितिले तयार गरेको दररेट अनुसार हामी तत्काल मूल्य तोक्छौँ ।’
मुआब्जा तोकेपछि बितरण सुरु हुन्छ : इकाई प्रमुख कार्की
आयोजनाले के गरिरहेको छ ? घरगोठको तथ्याङ्क कसरी संकलन गरियो ? मूल्य निर्धारण गर्दा के समस्या आउन सक्छन् ? भन्ने विषयमा सरोकारावालसँग छलफल गरिएको बूढीगण्डकी जलविद्यूत आयोजना मुआब्जा वितरण पुनर्वास तथा पुनस्र्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले बताए ।
‘भूकम्पमा पूरै भत्किएका संरचनाको मुआब्जा के गर्ने ? पछि बनेका अस्थायी टहरा, ट्रस्टको मुआब्जा के गर्ने ? भन्ने विषयमा छलफल भयो’, इकाई प्रमुख कार्कीले भने, ‘जनतालाई मर्का नपार्ने गरी मुआब्जा बितरण गर्ने छलफलको निश्कर्ष हो ।’
शुक्रवार धादिङतर्फका जनप्रतिनिधि, सरोकारवालासँग पनि सोही किसिमको छलफल हुने उनले बताए । ‘दुवै जिल्लाका सरोकारवालासँग
छलफल सकेर तत्काल मुआब्जा निर्धारण हुन्छ’, उनले भने, ‘यो मुआब्जा तोक्ने पूर्व तयारी बैठक हो ।’
आयोजना कार्यालयले चारवटा एजेण्डामा सर्वपक्षीय छलफल डाकेको थियो । भूकम्पमा भत्किएका घर संरचनाको के गर्ने, डुबान क्षेत्रभित्र बन्ने जग्गा भाडामा लिई संरचना निर्माण गरेका ब्यक्तिहरुलाई भुक्तानी दिने सम्बन्धमा के गर्ने भन्ने थियो । भुकम्पमा परी पूर्ण क्षति भएको संरचनाको समेत मुआब्जा क्षतीपूर्ति भुक्तानी मागदावी गरेको देखिँदा त्यस्ता संरचनाको मुआब्जा भुक्तानी के गर्ने र आयोजनाबाट नापजाँच गरी तथ्याङ्क लिने क्रममासमेत निर्माण गरेका जस्ता, बाँस आदिले बेली बनाइएको संरचना तथा थप गरिएका टूस्टहरुको सम्बोधन कसरी गर्ने भन्ने बारेमा ऐजेण्डा तय गरिएको थियो ।
जनताको चासो एकातिर, ऐजेण्डा अर्कैतिर : संयोजक ढकाल
बूढीगण्डकी जलविद्युत आयोजना राष्टिूय सरोकार समितिका संयोजक हरेराम ढकालले जनताको चासो भन्दा फरक बिषयमा आयोजना कार्यालयले छलफल गरेको बताए । ‘घरगोठ मुआब्जाको दररेट कसरी निर्धारण गरिएको छ, बिस्थापितहरुसँग तथ्याङ्क संकलनको कुनै प्रमाण छैन’, उनले भने, ‘हामीले कुरा उठायौँ तर यी विषयमा बैठकमा छलफल नै भएन, प्रारम्भिक छलफल भनियो ।’
घरगोठ बिस्थापित हुनेहरु डुबान क्षेत्रको मूख्य प्रभावित रहेकाले उनीहरुलाई मुआब्जा दिँदा जिल्ला दररेट भन्दामाथि उठेर दिनुपर्ने सरोकार समितिका संयोजक ढकालले माग राखे । ‘जग्गा किन्दा बिचौलियाहरुले पनि किनेका थिए’, उनले भने, ‘घर गोठ बिस्थापित हुनेहरु सच्चा पिडित हुन्, उनीहरुलाई मुआब्जा दिँदा विशेष ख्याल आयोजनाले गर्नुपर्छ ।’
आउ“दो हप्ताभित्रै मुआब्जा दिनुस् : सांसद अधिकारी
बैठकमा सांसद हरिराज अधिकारीले आउँदो साताबाटै मुआब्जा बितरण प्रक्रिया थाल्न सुझाब दिए । अन्य प्रक्रिया सबै सकेर तत्काल मुआब्जा बितरणको काममा लाग्न उनले मुआब्जा निर्धारण समिति, इकाईका कर्मचारीलाई अनुरोध गरे । सरकारले हूासकट्टी नगरी मुआब्जा बितरण गर्न गरेको निर्णयको प्रशंसा गर्दै उनले जनताले घरगोठ, बोटबिरुवाको मुआब्जा छिटो पाउनुपर्ने माग राखे । ‘के समस्या पर्छ, हामीले के सहयोग गर्नुपर्छ तयार छौँ’ उनले भने ।




