
पालुङटार ७ को वडा कार्यालय भवन उद्घाटन
गोरखाको पालुङटार नगरपालिको वडा नंं ७ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । ६० लाख रुपैयाँमा निर्मित तीनकोठे भवनको बिहिबार उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पालुङ्टार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले उदघाटन गरेका हुन् ।
उद्घाटन भएलगत्तै विहिबारदेखि नयाँ भवनबाट सेवा सुरू गर्ने वडा अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए ।
कार्यालय भवन उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नगरप्रमुख कँडेलले पालिकाभित्र अधिकांश वडा भवनहरू निर्माण गरी सञ्चालनमा आइसकेको बताए । नयाँ भवन बनेपछि वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु थप प्रभावकारी हुने अपेक्षा रहेको उनले बताए ।
कार्यक्रममा नगरपालिकाका इन्जिनियर सन्दीप मरहट्टाले भवन निर्माणका क्रममा ६० लाख रुपैयाँ खर्च भएको बताए ।
वडा अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि उपमेयर पम्फा बसेल, नगरपालिकाकी सदस्य सावित्रा वि.क., नेकपा एमालेका वडा अध्यक्ष चन्द्रबहादुर कुमाल, नेपाली कांग्रेसका वडा सभापति कृष्णजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष देवीलाल कुमाल, जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार परियार, वडा सचिव सुमन पौडेल, वडा नं. ७ की वडा सदस्य भगवती कुमाल, टोल विकास संस्थाका चिजकुमार श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




