
पालुङटार नगरपालिकाको १० औँ हिउँदे सभा सम्पन्न
गोरखाको पालुङटार नगरपालिकाले १० औँ हिउँदे सभा सम्पन्न गरेको छ ।
नगरप्रमुख दीपकबाबु कँडेलको अध्यक्षतमा बुधवार आयोजित सभाले कोभिड १९ का कारण संचालन हुन नसक्ने योजनाहरुको रकमान्तर गरेको छ । ‘सभामा केही बजेट रकमान्तर भएका छन्’, नगरप्रमुख कँडेलले भने, ‘वडादेखि नगरसम्मका केही कार्यक्रम छन् ।’ तालिम, गोष्ठी जस्ता कार्यक्रम कोभिडका कारण गर्न नसकिने भएपछि हिउँदे सभाबाट रकमान्तर गरिएको नगरपालिकाले जनाएको छ ।
कतिपय एकै पटक पूराहुन नसक्ने बहुबर्षे योजनामा पनि बजेट कम भएपछि रकमान्तर गरिएको नगरप्रमुख कँडेलले बताए । यसअघिको सभामा बिनियोजन भएका बजेट वडा र नगरपालिकाको सिफारिसमा कार्यक्रम परिर्वतन गरिएको हो ।
यस्तै नगरसभाले वडा नम्बर ७ च्याङ्लीको जीवनज्योति माविका शिक्षकहरुले तलब खान नपाएको बिषयमा वडा शिक्षा समितिलाई जिम्मा दिएको छ । वडा शिक्षा समितिले त्यहाँको छानबिनसँगै अध्ययन गरी समस्या समाधानमा पहल गर्नेछ । ब्यवस्थापन समिति गठन हुन नसकेको विद्यालयमा वडा शिक्षा समितिलाई जिम्मेवारी नगरसभाले दिएको छ ।
नगर उपप्रमुख पम्फा बसेल, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण अर्याल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।




