| सोमवार, कार्तिक २३, २०८३

बूढीगण्डकी डुबान क्षेत्रको घरगोठको मूल्यसूची सार्वजनिक गर्न माग

बूढीगण्डकी जलविद्युत आयोजनाका कारण डुबानमा पर्ने घरगोठ, बोटबिरुवाको मूल्यसूची सार्वजनिक गर्न धादिङ र गोरखाका जनप्रतिनिधिले माग गरेका छन् । बूढीगण्डकी जलविद्यूत आयोजना मुआब्जा वितरण पुनर्बास तथा पुनस्र्थापना इकाईलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले उक्त माग गरेका हुन् ।

मूल्य निर्धारण गर्नुअघि दररेट सार्वजनिक गर्नुपर्ने, धादिङ र गोरखाको मुआब्जा समान कायम गर्नुपर्ने, छुट भएका भौतिक संरचनाको पुनःसर्वेक्षण गर्नुपर्ने माग जनप्रतिनिधिले राखेका शहीदलखन ९ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले बताए ।

आयोजनाको मोडालिटी तयार गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने, सुकुम्बासीहरुको बसोबासको उचित ब्यवस्था गरिनुपर्ने, वातावरणीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, डुबान क्षेत्रमा दर्ता भई संचालनमा रहेका फर्महरुको उचित सम्वोधन गर्नुपर्ने माग राखेको त्रिपुरासुन्दरी ५ का वडा अध्यक्ष कुशबहादुर सिटौलाले बताए ।

२०७३ सालमा जग्गाको मुआब्जा निर्धारण गर्दा मुआब्जा निर्धारण समितिले गरेका सिफारिस, मागहरु अबिलम्ब सम्बोधन गरिनुपर्ने, फिल्डबुक कायम भई पुर्जा पाएकालाई मुआब्जा तत्काल दिनुपर्ने, गोरखा र धादिङतर्फको जग्गाको मुआब्जा निर्धारणमा एकरुपता हुनुपर्ने माग जनप्रतिनिधिले राखेका छन् । घरगोठको मुआब्जा बितरण गर्नु अघि वातावरणीय प्रतिवेदनको आधारमा पुनर्बासको ब्यवस्था हुनुपर्ने, विद्यालय, मठ मन्दिर, स्वास्थ्य संस्थाको उचित ब्यवस्था हुनुपर्ने लगायत १९ बुँदे माग जनप्रतिनिधिले राखेका छन् ।

इकाइ प्रमखु कृष्णबहादुर कार्कीलाई जनप्रतिनिधिसहित २२ जनाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाइएको हो । छिट्टै गोरखा र धादिङको मुआब्जा समितिको बैठक बसेर घरगोठ बोट बिरुवाको मूल्य निर्धारण हुने आयोजना कार्यालयका प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्