| सोमवार, कार्तिक २३, २०८३

निराश बनाउँदै विदेशी दातृ निकाय

हाम्रो देशको विकास गर्न विदेशी दातृ निकायको मुख ताक्ने हामी आशामुखी हौँ । हामी नेपाली उनीहरुको भौतिक बस्तु(नगद)को फाइदा लिन्छौँ । उनीहरु सहयोगको बहानामा हामीसँग नीतिगत फाइदा लिन्छन् ।

अहिले चर्चित एमसिसी पनि उही हो । एमसिसी मात्र किन ? यसअघिका यूएस एड, यूके एड, डिफिड जस्ता जतिपनि ठूला दातृ निकाय छन्, सबै एकहातले दिने, अर्को हातले लिने निकाय हुन् । उनीहरुले दिएको सबैले देख्छन्, किनभने रकम भौतिक बस्तु हो । उनीहरुले लिएको प्रायले देख्दैनन्, किनभने त्यो नीतिगत कुरा हो ।

यसबारे विज्ञ वा नीतिगत निर्णय गर्ने तहमा बसेकाले पक्कै थाहा पाउँछन् ।
विदेशी सहयोग लिनु राम्रो कुरा होइन, त्यसैले लिँदैनौँ भनेर नकार्ने अबस्थामा हामी छैनौँ । तर यसको ठिक उल्टो हामी विदेशी सहयोग पाइएन भनेर दुख मान्नुपर्ने अबस्थामा छौँ ।

विदेशी दातृ निकायले दिने भनेका जिल्लाका कतिपय सहयोग नआउँदा निराश भएको अबस्था छ । ताक्लुङको सिंजाली माविको भवन निर्माणको जिम्मा चिनियाँ सरकारले लिएको दस बर्ष भयो । चिनियाँ सरकारले बनाउला भन्ने आशाले सरकारले पनि भूकम्पले भत्किएको सो विद्यालयको पुनर्निर्माण गरेन । तर अहिले न चिनियाँ सरकारले बनायो, न अन्य दातृ निकायले बनाए ।

दुईबर्षअघि एक्जिम वैँक अफ इण्डियाले बनाउने प्रतिवद्धता गरेको पन्थडिही, कटहरे, हर्मी, साइँलीटार सडकको काम अहिलेसम्म सुरु भएको छैन । एक्जिम वैँक अफ इण्डिया ठेकेदारको पूर्वयोग्यता प्रक्रियामा दुईबर्षदेखि अल्झिरहेको छ । जिल्लाका अन्य सडकहरु धमाधम स्तरोन्नति भइरहेका छन् तर विदेशी दातृ निकायको मुख ताकेर बस्दा यो सडक अहिलेसम्म जीर्ण अबस्थामा गुज्रिरहनु परेको छ । स्थानीयबासीले सास्ती भोगिरहनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्