| सोमवार, कार्तिक २३, २०८३

युवाहरुलाई स्वरोजगार बनाउन गोरखामा कुक र वेटर तालिम

युवाहरुलाई स्वरोजगार र ब्यवशायिक बनाउन गोरखामा एक महिने जुनियर कुक तथा वेटर तालिम दिइएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद फुलबारी पोखराको आर्थिक सहयोगमा गोरखा उद्योग बाणिज्य संघ र गोरखा नगरपालिकाको समन्वयमा ६० जना युवालाई तालिम दिन सुरु गरिएको हो ।

‘२०÷२० जनाको दुई सिफ्टमा कुक र २० जनालाई एक सिफ्टमा वेटर तालिम सुरु गरिएको छ’, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने, ‘सिप सिकाई ब्यवशायिक बनाउने योजना सहित हामीले यो सुरु गरेका हौँ ।’ गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सोमवार भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सिप सिकेपछि त्यसलाई ब्यवहारमा लागु गर्न सुझाब दिए ।

‘तालिम र प्रमाण पत्र लिने मात्र होईन, ब्यवशायिक बन्न र रोजगारीका लागि देश बिदेशमा पनि काम गर्न सकिन्छ’, उनले भने । गोरखा नगरपालिकाले पनि बिभिन्न सिपमुलक तालिम संचालन गर्दै युवाहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै लगेको उनले बताए ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद फुलबारी पोखराका प्रमुख हर्कलाल श्रेष्ठले तालिमले दक्ष जनशक्ति तयार गर्न मद्दत गर्ने बताए । तालिमले युवाहरुको ब्यवशायिक बन्ने चाहना पूरा गर्न र होटल, रेष्टुरेन्टमा जनशक्ति परिपूर्तिका लागि मद्दत पुग्ने गरेको उनले बताए । ‘अहिलेसम्म होटल ब्यवशायको क्षेत्रमा हजारौँ जनशक्ति तालिमबाट तयार गरेका छौँ’, उनले भने, ‘तालिमलाई रोजगारमा परिणत गर्न भने सहभागीले ध्यान दिनुपर्छ ।’

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेल, गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्यूतलाल श्रेष्ठ, श्रबणकुमार जोशी, जीवनज्योति श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगबानबाबु मास्के लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्