
घरेलु कार्यालय गोरखाद्वारा १३२ जनालाई उद्यमशिलता तालिम
घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाले एक सय ३२ जनालाई उद्यमशिलता तालिम दिएको छ । गोरखाको बिभिन्न पालिकामा पुस १६ देखि माघ १७ गतेसम्म एक महिनाको अवधीमा उद्यमशिल कसरी बन्ने, ब्यवशाय कसरी राम्रोसँग संचालन गर्ने, ब्यवशायी बन्ने तौर तरिकाको बारेमा जानकारी दिइएको बरिष्ठ उद्योग अधिकृत सूर्य भुजेलले बताए ।
पुस १६ देखि २५ सम्म गण्डकी गाउँपालिकाको फुजेलमा भएको तालिममा २० जना सहभागी थिए । सोही समयमा शहीदलखन गाउँपालिका बक्राङमा भएको तालिममा २४ जना सहभागी भए ।
पुस २७ देखि माघ ६ सम्म आरुघाट गाउँपालिकामा ४० जना सहभागी भए भने सोही अवधीमा भिमसेन थापा गाउँपालिकामा २८ जना सहभागी थिए ।
माघ ८ देखि १७ सम्म अजिरकोट गाउँपालिका ३ भच्चेकमा भएको उद्यमशिलता बिकास तालिममा २० जना सहभागी थिए । बारपाक सुलिकोट, धार्चे र सिरानचोक गाउँपालिकाबाट पनि ती तालिममा सहभागी रहेको घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाले जनाएको छ ।
एक सय ३० जनालाई तालिम दिने लक्ष्य लिएको कार्यालयले एक सय ३२ जनालाई तालिम दिन सफल भएको कार्यालय प्रमुख भुजेलले बताए । कार्यालयले उद्यमी बनाउने, सिप सिकाउने, ब्यवशायिक बनाउने खालका तालिम संचालन गरिरहेको छ । कोभिड १९ को प्रभावका कारण कार्यक्रम भने केही प्रभावित भएको कार्यालय प्रमुख भुजेलले बताए ।




