
डिसिसीएमसीले बन्द गराएका संस्थाहरु माघ मसान्तसम्म नखुल्ने
कोरोना जोखिमलाई मध्यनजर गर्दै मानिसहरुको भिडभाड हुने सिनेमा हल र शैक्षिक संस्था लगायतका स्थानहरु माघ मसान्तसम्ममा नखुलाउने निर्णय भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको नेतृत्वमा सोमबार बसेको वैठकले यसअघि नै बन्द गरिएका ती व्यवसायिक संस्थाहरु नखुलाउने निर्णय गरेको हो ।
वैठकले सिनेमा हल, क्लव, जिमखाना, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म संचालन गर्न नपाइने निर्णय गरेको जनाएको छ ।
कोभिडको उच्च संक्रमण दरको जोखिमलाई मध्यनजर गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म भीडभाड हुने कार्यक्रमहरु बन्द गर्ने निर्णय गरेको सूचना प्रकाशित गरी जनाएको छ ।
त्यस्तै, विद्यालय, विश्वविद्यालय, कलेज लगायतका शैक्षिक क्रियाकलाप भौतिक उपस्थितिमा संचालन नगर्ने तर भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई विधि अपनाउन सकिने समेत समितिले निर्णय गरेको छ ।
तर विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षाहरु भने जनस्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न निर्देशन दिएका छन् ।
विद्यालय तथा सर्वसाधारणका लागि संचालन भएको खोप अभियान निर्वाधरुपमा संचालन गर्न खोपको आपुर्ति सहज बनाई विद्यालयहरुमा खोप कार्यक्रमलाई अभियानकै रुपमा संचालन पनि निर्देशन दिएको छ ।
यसका लागि चाहिने खोपको संख्या यकिन गरी सो उपयुक्र व्यवस्था गर्ने र आवश्यक अपुग खोपको आपूर्तिका लागि स्वास्थ्य कार्यालय गोरखाले प्रदेश तथा केन्द्र सरकारसँ आवश्यक समन्वय गर्ने निर्णय भएको बताइएको छ ।




