| सोमवार, कार्तिक २३, २०८३

एक्जिम वैँकको पन्थडिही कटहरे हर्मी सडक : दुईबर्ष बितिसक्दा पनि टुंगिएन ठेकेदारको पूर्वयोग्यता प्रक्रिया

नेपाल सरकार र एक्जिम वैँक अफ इण्डिया बीच दुईबर्षअघि सम्झौता भएको पन्थडिही, कटहरे, हर्मी, मुगे(साइँलीटार) सडक कालोपत्रे गर्ने प्रक्रिया अझै अघि बढ्न सकेको छैन । अहिलेसम्म निर्माण कम्पनीको पूर्वयोग्यता छनौटमै अल्झिरहेको सडक सुधार तथा विकास निर्देशनालय(आरआईडिपी)ले जनाएको छ ।


‘गतबर्ष पनि सम्भावित निर्माण कम्पनीहरुको पूर्व योग्यता छनौट गरिएको थियो । तर प्रक्रियामा सहभागी कुनैपनि कम्पनीहरु छनौट हुन नसक्दा प्रक्रिया रद्ध भयो । यसपटक गएको दशैँतिर फेरि छनौट प्रक्रिया सुरु भएको थियो तर नतिजा आएको छैन’, आरआईडिपीका प्रमुख रोहित बिसुरालले भने, ‘यो प्रक्रियाले पूर्णता पाएपछि बल्ल आर्थिक प्रस्तावको बोलपत्र पेश गर्ने चरणमा प्रवेश हुनेछ ।’ आफूहरुको तर्फबाट बारम्बार छलफल भइरहेको उनले बताए । ‘यो लामै समय लाग्ने प्रक्रिया हो’, उनले भने, ‘निर्माण कम्पनीहरुका सर्टलिस्टिङ भएपछि मात्र टेण्डर हुने हो ।’ नतिजा केहीदिनभित्रै आउने उनले विश्वास व्यक्त गरे ।


एक्जिम वैंक अफ इण्डियाको ऋण सहयोगमा २०७४ सालमा योलगायत नेपालका अन्य १२ वटा योजनाको काम अघि बढिरहेको छ । यो सडकका लागि भने २०७६ मा मात्र स्रोत सुनिश्चित भएको हो । आईईई, सर्भे डिजाइन लगायत प्राविधिक काम सबै सम्पन्न भइसकेको तर आर्थिक प्रस्तावको काम मात्र बाँकी रहेको निर्देशनालयले जनाएको छ ।


पन्थडिही, कटहरे, हर्मी, मुगे सडकको करिब आठ किलोमिटर खण्ड पालुङ्टार नगरपालिका १ मा पर्छ । करिब आठ किलोमिटर खण्ड वडा नं. २ मा पर्छ भने करिब चार किलोमिटर खण्ड सिरानचोक ३ हर्मी क्षेत्रमा पर्ने पालुङ्टार १ का वडा अध्यक्ष कृष्णबहादुर परियार बताउँछन् ।
सडकका कारण क्षति हुने घरगोठ लगायतका संरचनाको क्षतिपूर्ति लिने तर जग्गाको मुआव्जा नलिने बिषयमा गतबर्ष नै स्थानीय उपभोक्ताहरुको सहमति जुटिसकेको पालुङ्टार १ का वडा अध्यक्ष कृष्णबहादुर परियारले बताए । ‘अहिले सडक कन्तबिजोक छ’, परियार भन्छन्, ‘आरआईडिपीले बनाउने भनेर अरु कसैले पनि हात हालेनन् । आरआइडिपी पनि कता हरायो । हामी स्थानीयबासी अप्ठेरोमा प¥यौँ ।’

प्रतिक्रिया दिनुहोस्