| सोमवार, कार्तिक २३, २०८३

चेपाङ संग्रहालय निर्माण कार्य अलपत्र नपरोस्

विभिन्न जातजाति, भाषाभाषी, भेषभुषा, धर्म, कला–संस्कृति नै नेपालको विशिष्टता हो । विश्वका अरुदेशमा जातीय द्वन्द्व हुन्छ । धार्मिक द्वन्द्व, बर्गीय द्वन्द्व, सांस्कृतिक द्वन्द्व इत्यादि हुन्छन् तर हाम्रो देशको विशेषता नै धार्मिक, भाषिक, जातीय, बर्गीय, सांस्कृतिक आधारमा विखण्डन होइन, सहिष्णुता छ । यो नै हाम्रो पहिचान हो ।

उद्योग व्यापार गरेर सहरमा मात्र बस्ने समुदाय पनि यहाँ छन्, राउटे, कसुण्डा, चेपाङ, बनकरिया लगायतका समुदाय पनि यहाँ छन्, जो तनावी विश्व जगततिर ध्यान नदिई आफ्नैपनभित्र रमाइरहेका छन् ।

चेपाङ समुदायको बिगत र वर्तमान परिवर्तित छ । अझै आगत परिवर्तनीय हुने नै छ । किनभने उनीहरु अब दिनभर काम गरेर कमाउने साँझ परेपछि रमाउने गरेर भविष्य अन्धकार बनाउने लाइनमा छैनन् । अब उनीहरुमा शिक्षाको विकास भइरहेको छ । लामो समयको अनुभव र सिकाइपछि अब चेपाङ समुदायभित्र पनि कमाउने र भविष्य सुनिश्चित बनाउनु पर्छ भन्ने चेतना विकास भइसकेको छ । अब उनीहरु व्यवसायिक खेतीतर्फ लागेका छन् ।

समयसँगै अघि बढ्दै जाँदा उनीहरुमा प्रचलित लोकसंस्कृतिहरु पनि मेटिँदैछन् । उनीहरुको कला, संस्कृति, भाषा, भेषभुषा, प्राचीन सम्पदा पनि नष्ट हुदैछ, लोप हुदैछ । त्यसैले समयको क्रमसंग बिर्सिँदै गएका, हट्दै गएका, मेटिँदै गएका सम्पदाहरुको संरक्षण गर्न चेपाङ संघले तोमनडाँडाको विद्यालयको आडमा संग्रहालय निर्माण गर्न सुरु गरेको छ ।

तर तीनबर्ष भयो, निर्माणको काम डिपिसी भन्दा अघि बढ्न सकेको छैन । गाउँपालिकाले उपलब्ध गराएको पाँचलाख रुपैयाँले डिपिसी गरेपछि अन्य स्रोत जुट्न सकेन फलतः काम अघि बढ्न सकेन । गाउँसरकारले पनि दोहो¥याएर सहयोग गरेन, प्रदेश सरकारले पनि हेरेन, संघ सरकारले पनि वास्ता गरेन ।

त्यसैले उनीहरुको संग्रहालय निर्माण अलपत्र भएको छ । उनीहरुको संग्रहालयलाई सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्