| सोमवार, कार्तिक २३, २०८३

गोरखा र धार्चेमा जनसंख्या बढ्यो, अरु सबैमा घट्यो

सबैतिर जनसंख्या घटिरहेका बेला गोरखा नगरपालिका र धार्चे गाउँपालिकाको जनसंख्या भने बढेको पाइएको छ । गोरखा नगरपालिकामा करिब तीनहजार र धार्चेको जनसंख्यामा एकहजार वृद्धि भएको तथ्यांक कार्यालय गोरखाले जनाएको छ ।

२०६८ को जनगणना अनुसार गोरखा नगरपालिकाको जनसंख्या ५०हजार ६८४ थियो भने २०७८ को जनगणनामा यो संख्या बढेर ५३ हजार २८५ पुगेको छ । त्यस्तै धार्चे गाउँपालिकामा २०६८ को जनगणनामा १३ हजार छ ६४ जनसंख्या रहेकोमा यसपटकको जनगणनामा जनसंख्या बढेर १४ हजार पाँचसय ६३ पुगेको छ ।
अन्य सबै पालिकाको भने जनसंख्या घटेको छ ।

पालुङ्टार नगरपालिकामा १० बर्षअघि ३८ हजार २४४ जना रहेकामा यसपटक घटेर ३७ हजार २७४ जना रहेको छ । सिरानचोक गाउँपालिकामा २०६८ सालमा २३ हजार ६६६ जना रहेकामा यसपटक १९ हजार आठसय २९ जना रहेका छन् । अजीरकोटमा यसअघिको जनसंख्या १५ हजार ६०२ रहेकामा यसपटक १३ हजार दुईमात्र रहेको छ । त्यस्तै बारपाक सुलीकोटमा २५ हजार २९९ जनसंख्या रहेकामा यसपटक २३ हजार २२२ रहेको छ । चुमनुब्री गाउँपालिकामा १० बर्षअघि सातहजार ४१७ जना रहेकामा अहिले घटेर छ हजार ७८९ जना रहेका छन् ।

शहीदलखन गाउँपालिकामा २७ हजार पाँचसय ५५ बाट घटेर २२ हजार ४२९ जना भएको छ भने अर्को भीमसेनथापा गाउँपालिकामा २२ हजार ५३ जनाबाट घटेर १७ हजार एकसय १८ भएको छ । आरुघाट गाउँपालिकामा २३ हजार ९१५बाट घटेर २१ हजार ८७६ जना भएको छ । गण्डकी गाउँपालिकामा २३ हजार २६२ जनसंख्या रहेकामा अहिले घटेर २१ हजार ६६२ जना रहेको छ ।

एउटा घरमा औसतमा तीनजना परिवार

हालैको जनगणनाको नतिजा विश्लेषण गर्दा गोरखा, लम्जुङ र मनाङको जन्मदर नै कम पाइएको छ । यी तीनै जिल्लामा एउटा घरमा औसतमा तीनजना मात्र सदस्य रहेको पाइएको तथ्यांक कार्यालय गोरखाले जनाएको छ ।

‘तीनवटै जिल्लाको जन्मदर बर्षेनी घटिरहेको छ’, कार्यालय प्रमुख महेशप्रसाद ढुंगानाले भने, ‘प्रत्येक घर र त्यस घरको परिवार संख्याको अनुपात विश्लेषण गर्दा एउटा घरमा औसतमा तीनजना मात्र सदस्य रहेको छ ।’ गोरखामा यसपटकको जनगणनामा प्रत्येक घरमा बसोबास गर्ने परिबार सदस्यको अनुपात ३.४६ जना रहेको छ । लम्जुङमा एउटा घरमा ३.४२ जना र मनाङमा एक घरमा ३.६० जना रहेको तथ्यांक छ । गोरखामा १० बर्षअघि एक घरको परिबार संख्या औसतमा ४.०८ जना थियो ।

२०५८ सालमा त्यो भन्दा धेरै ४.८९ र २०४८ सालको जनगणनामा घरसंख्या र परिबार सदस्य संख्याको अनुपात ५.१२ थियो । ‘बुझ्ने भाषामा भन्नुपर्दा ३० बर्षअघि एउटा घरमा बसोबास गर्ने परिबार संख्या पाँचजना भन्दा धेरै थियो तर अहिले एउटा घरमा बस्ने परिबार सदस्य ३.४६ जना मात्र छ’, उनले भने, ‘तथ्यांक केलाउँदा एउटा सन्तान भएपछि अर्को नजन्माउने परम्परा बढिरहेको देखियो ।’

लम्जुङमा १० बर्षअघि एउटा घरमा अनुपातमा ३.९९ जना थियो भने २०५८ मा परिवार सदस्यको अनुपात ४.८५ थियो ।
मनाङमा २०६८ सालको जनगणनामा घर र परिबार सदस्य संख्याको अनुपात ४.४२ थियो भने २०५८ मा घर र परिबारको अनुपात ६.४८ थियो ।
बसाइँ सराइका कारण पनि पहाडी जिल्लाको जनसंख्या घटेको हो । ग्रामीण क्षेत्रमा जनसंख्या घटिरहेको र सहरी तथा तराइ क्षेत्रमा बढिरहेको तथ्यांकले देखाएको कार्यालय प्रमुख ढुंगानाले बताए । ‘भौतिक सुविधा, शैक्षिक तथा स्वास्थ्य सेवाको असुविधाका कारण सुगम र सहरी क्षेत्रमा बसाइसराइ हुने गरेको देखिन्छ’, उनले भने, ‘तथ्यांकको विश्लेषण गर्ने हो भने चुमनुब्री गाउँपालिकामा १० बर्षअघि सातहजार चारसय १७ जना बस्थे, अहिले घटेर छ हजार सातसय ८९ जना मात्र छन् । तर गोरखा नगरपालिकामा १० बर्षअघि ५० हजार छसय ८४ जना थिए । अहिले बढेर ५३ हजार दुईसय ८५ जना पुगेको छ ।’

सबैभन्दा धेरै शहीदलखन गाउँपालिकामा २७ हजार पाँचसय ५५ बाट घटेर २२ हजार ४२९ जना भएको छ भने अर्को भीमसेनथापा गाउँपालिकामा २२ हजार ५३ जनाबाट घटेर १७ हजार एकसय १८ भएको छ । आरुघाट गाउँपालिकामा २३ हजार ९१५बाट घटेर २१ हजार ८७६ जना भएको छ । बूढीगण्डकी डुबानमा पर्ने भएकाले यी तीन गाउँपालिकाका बासिन्दा मुआव्जा लिएर बसाइँ सरेका कार्यालयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्