| आइतवार, कार्तिक २२, २०८३

डा. देवकोटा

निभ्यो पण्डित गाउको बत्ती !

दरौँदी ः ‘गाउँलाई असाध्यै माया गर्थे । जन्मेको थलो सम्झेर बेलाबेला आइरहन्थे । उनी आउँदा कस्तै नभए नि सय डेढसय जना गाउँले थुप्रिन्थे । कसैले नाडी छामिदिनू भन्थे, कसैले मुटुको ढुकढुकी हेरिदिनू भन्थे । उनले छामेपछि कतिको त बेथा निको हुन्थ्यो’ पालुङ्टार ४ पण्डितगाउँकी कलादेवी देवकोटा डाक्टर उपेन्द्र देवकोटालाई यसरी सम्झिन्छिन् ‘उनी गए । अहिले गाउँको बत्ती निभेको जस्तो भएको छ । अल्पायूमा जान लेखेको रहेछ । त्यही भएर यति बिछट्टै गाउँको माया गरेका । गाउँलेको पनि यति प्यारो भएका ।’
भुइँचालोपछि बिल्लिपाठ भएको बेला जस्तापाता बाँडेको सम्झँदै अर्का स्थानीय जुद्धविलास भण्डारी भन्छन् ‘एक करोड जतिको त जस्तापाता बाँडनुभयो होला डाक्टरसाबले । उहाँको निधनले गाउँलाई मात्र होइन, नेपालका लागि नै ठूलो क्षति भयो ।’ गोरखाबाट आएको बिरामी भनेपछि न्यूरो अस्पतालमा लागेको भीड हटाएर पनि आफैले उपचार गरिदिने गरेको उनी सम्झन्छन् । उपचारबाटै समाज सेवा पनि गर्ने डाक्टर देवकोटाको प्रसंसा गर्दै भण्डारीले भने ‘कात्तिक २९ गते पालुङ्टारको आमसभा सकेर फर्किनु भएको थियो । आफै बिरामी भएर आराम गरिरहेको बेला पनि गाउँकी ब्रेनट्यूमरले थला परेकीे राधिका बस्नेतलाई उपचार गर्न ल्याएको छ भन्ने थाहा पाएर उहाँले आफैले अप्रेशन गर्नुभयो । सी इज माइ लास्ट केस भन्नुभयो । त्यसपछि कसैको उपचार गर्न सक्नुभएन ।’
२०१० सालमा जन्मेका डाक्टर देवकोटाका दँवली गाउँमा धेरै छन् । सुदर्शन प्राबिमा संगै कखरा पढेका देवेन्द्रराज देवकोटा डाक्टर देवकोटाको निधनले स्तब्ध छन् । अहिले पनि उनीसंग संगै सिस्नेपानी धाराको पानी खाएको झल्को छ । ‘मान्छे सानैदेखि हक्की थियो । लप्पनछप्पन नजान्ने, खरो स्वभावको । मन नपर्ने कुरा आए झगडा गर्न पनि तम्सिने’ बिगत सम्झिदै उनी भन्छन् ‘उसलाई ठूलो मान्छे बन्न लेखेको रहेछ । हामी गाउँमै भयौं । सँधै भेट भइरहन्थ्यो । अहिले छोडेर गयो ।’
शोकको बेला धेरै बोल्नै नसक्ने उनी बताउँछन् । डाक्टर देवकोटाले जन्मथलोलाई असाध्यै माया गर्ने अर्का स्थानीय शंकर देवकोटाको सम्झना छ । ‘बाजेको पालामा बनाएको पुरानो घर धेरै नै पुरानो भएको थियो । उनले त्यसलाई भत्काएर पुरानै ढाचामा जस्ताको तस्तै बनाए ।
त्यो घर पनि बहत्तर सालको भुइँचालोले चर्कायो । फेरि त्यसलाई पनि जस्ताको जस्तै मर्मत गरेका थिए’ दाइ नाता पर्ने उनी भन्छन्, ‘घरमा आइरहन मन गर्थे । उपचार गर्न बेलायत गए पनि नेपालमै फर्किएर आए । नेपाल आएपछि पनि गाउँमै आउने रहर गरेर मर्ने बेलामा पनि जन्मघरमा आए ।’ डाक्टर देवकोटाको जन्मघर प्रतिको अद्भूत मायाको उनले प्रसंसा गरे । उनी अन्तिमपटक सिस्नेपानीको धाराको पानी खाने धोकेले जेठ २६ गते गाउँ पुगेका थिए । हेलिकोप्टरमा बोकिएर गाउँ पुगेपनि उनी शीर ठाडो गरेर हेर्न, कसैसंग बोल्न सक्ने अबस्थामा थिएन ।
सिस्नेधाराको पानी खाने अन्तिम इच्छा पूरा भएपनि नजिकैको मस्र्याङ्दी र चेपे मिसिएको ठाउँमा खुट्टा डुबाएर सितल खाने अर्को अन्तिम इच्छा भने पूरा गर्न नसकिएको उनका मामाका छोरा काशिराज घिमिरे बताउँछन् ।
सामान्य बिरामी भएपनि कात्तिक २९ गते ठाँटीपोखरीको आमसभामा गाउँ पुगेका थिए । त्यो भन्दा अघि कात्तिक महिनामा लगाइएको महापुराणका बेला पनि गाउँमा पुगेका थिए ।
त्यही नै उनको अन्तिम गाउँ आगमन भएको स्थानीय आशिष देवकोटा सम्झन्छन् ।

प्रतिक्रिया दिनुहोस्