
कुन्दुरटार सिँचाइ योजना नेपालको विकास पद्धतिको प्रतिनिधि
नेपालको विकास कसरी हुने गरेको छ ? यसको उत्तर कुन्दुरटार सिँचाइ आयोजना हेरे पुग्छ ।
पाँचसय हेक्टर जमिन सिंचाई गर्नेगरी २०५९ सालमा सुरु भएको यो आयोजना अहिलेसम्म सम्पन्न भएको छैन । यसकै नाममा आयोजना कार्यालय स्थापना भएको छ, तर पनि योजना सम्पन्न हुने छाँटकाँट छैन ।
कार्यालय स्थापना भएपछि पनि पटक–पटक काम छिटो गर्न ठेकेदारलाई दबाव दिइयो । निर्माण ब्यवशायी अन्नपूर्ण निर्माण सेवाका राजेन्द्र सुनारले वर्षदिन काम नगरी बसेका थिए । दबाबपछि आँखामा छारो हाल्न काम सुरु गरे झैँ गरिएको छ ।
कमजोरी सतप्रतिशत ठेकेदारको नहुन पनि सक्छ, किनकि, कार्यालयले साइट नदिएका कारण काम गर्न नसकेको ठेकेदारको गुनासो छ ।
केही समयअघिसम्म आठकिलोमिटर नहरमा थोरै पानी बग्थ्यो । दरौँदी फाँटका केही किसानले नहरको पानी प्रयोग गर्थे । त्यसयता १० किलोमिटर नहरमा अहिले पनि पानी चल्ने अवस्था छैन । बर्षौँ पहिलेको योजना भएको र नहर बन्नुपर्ने ठाउँमा ब्यक्तिका घर, अस्थायी संरचनाहरु, सडक निर्माण भएको छ ।
२०५९ सालमा प्राविधिकहरुले करिब पाँच करोड रुपैयाँमा नहर पूरा गर्न सकिने स्टमेट गरेका थिए । तर अहिले पूरा १८ किलोमिटर नहर तयार गर्न करिब ५० करोड खर्च हुने अनुमान कार्यालयको छ । आयोजनाको काम नहुँदा अहिले लागत अनुमान १० गुणा बढेको छ । सिंचाई आयोजना संचालन नहुँदा अहिले छेवेटार, दशकिलो, कुन्दुरटारलगायत ठाउँका जमिन बाँझो छ ।
खेतीयोग्य जमिनलाई इट्टाभट्टा र ब्यवशायिक पशुपालन, कुखुरापालनमा प्रयोग गरिएको छ भने केही चउर बनेर बाँझो बसेको छ । आयोजनामा पानी संचालन भएपछि ब्यवशायिक तरकारी खेती र कृषि उत्पादन ब्यवशायिकता बढ्ने विश्वास लिइएको छ ।




