
२० बर्ष बित्यो, कुन्दुरटार नहरमा अझै पानी बगेन
पाँचसय हेक्टर जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा अहिलेसम्म पानी बग्दैन । करोडौँ रुपैयाँ खर्च भयो तर वर्षमा एक किलोमिटर नहर बन्न सकेन ।
२०७६ मा पालुङटार कुन्दुरटार सिंचाई आयोजना कार्यालय स्थापना भएर पुर्णता दिने योजना सहित काम सुरु भयो । गतबर्ष नहर सफा गर्न मुहानदेखि ३४ सय मिटरसम्म करिब एक करोड रुपैयाँमा टेण्डर भयो । ३४ सयदेखि ७३ सयमिटरसम्म दोस्रो प्याकेजमा कार्यालयले ठेक्का लगायो । करिब दुईकरोड लागतमा नहरमा पानी चलाउन मिल्ने गरी भएको ठेक्कामा काम नै हुन सकेको छ ।
‘अब दुई महिनाभित्र ७३ सय मिटरसम्म पानी चल्ने गरी निर्माण कम्पनीले काम गर्नुपर्छ’, आयोजना कार्यालयका प्रमुख दिनेश आचार्यले भने ‘अहिलेसम्म काम नै भएको थिएन ।’ पटक–पटक काम छिटो गर्न दबाव दिएपछि केही दिनअघि निर्माण ब्यवशायीले काम सुरु गरेको उनले बताए । वर्षदिन काम नगरी बसेका निर्माण ब्यवशायीलाई तोकिएको समय भित्रै सिध्याउन मुस्किल छ ।
नहर बनाउने जिम्मा लिएको अन्नपूर्ण निर्माण सेवाका राजेन्द्र सुनारले कामदार नै नपाएर दशैँअघि काम गर्न नसकेको बताए । ‘अहिले कामदार आएका छन्, दुई महिनाभित्र सिध्याउने गरी काम गरिरहेका छौँ’, सुनारले भने । नहरको मुहनदेखि ७३ सयमिटरसम्म पानी चलाउने गरी भत्किएको ठाउँमा पर्खाल लगाउने, मर्मत गर्ने, नहर सफा गर्ने गरी टेण्डर भएको हो । समयमै काम नहुँदा अहिले नहरमा राम्रोसँग पानी चल्दैन ।
यसअघि आठकिलोमिटरसम्म नहरमा थोरै पानी बग्थ्यो । दरौँदी फाँटका केही किसानले नहरको पानी प्रयोग गर्थे । त्यसयता १० किलोमिटर नहरमा अहिले पनि पानी चल्ने अवस्था छैन । बर्षौँ पहिलेको योजना भएको र नहर बन्नुपर्ने ठाउँमा ब्यक्तिका घर, अस्थायी संरचनाहरु, सडक निर्माण हुँदा अहिले नहर पूरा गर्न समस्या भएको छ ।
२०५९ सालमा प्राविधिकहरुले करिब पाँच करोड रुपैयाँमा नहर पूरा गर्न सकिने स्टमेट गरेका थिए । तर अहिले पूरा १८ किलोमिटर नहर तयार गर्न करिब ५० करोड खर्च हुने अनुमान कार्यालयको छ । आयोजनाको काम नहुँदा अहिले लागत अनुमान १० गुणा बढेको छ । निरन्तर काम भएको खण्डमा पनि वर्ष बढ्दै जाँदा लागत थपिँदै जानेछ ।
सिंचाई आयोजना संचालन नहुँदा अहिले छेवेटार, दशकिलो, कुन्दुरटारलगायत ठाउँका जमिन बाँझो छ । खेतीयोग्य जमिनलाई इट्टाभट्टा र ब्यवशायिक पशुपालन, कुखुरापालनमा प्रयोग गरिएको छ भने केही चउर बनेर बाँझो बसेको छ । आयोजनामा पानी संचालन भएपछि ब्यवशायिक तरकारी खेती र कृषि उत्पादन ब्यवशायिकता बढ्ने गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त बताउँछन् । गोरखा नगरपालिका १०, ११ र १२ को बाँझो फाँटलाई सिंचाई गर्ने गरी यो आयोजना सुरु भएको थियो ।




