म्याद सकियो, अझै विद्यालय व्यवस्थापन समिति गठन भएन
गोरखा नगरपालिका भित्रका पाँच वटा विद्यालयमा अझैसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । नगरपालिका भित्रका सबै विद्यालयहरुमा पुस मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन गरिसक्नुपर्ने थियो । तर समयसीमा सकिदा समेत पाँच वटा विद्यालयमा अभैm समिति गठन हुन नसकेको नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति विश्वनाथ वाग्लेले बताए ।
नगरपालिका भित्र हाल ४८ वटा सामुदायिक विद्यालय र १८ वटा संस्थागत विद्यालय छन् । संस्थागततर्फका सबै विद्यालयमा समिति गठन भइसकेको छ । सामुदायिक तर्फका पाँच वटा विद्यालयमा समिति गठन हुन नसकेको हो । तीमध्य राष्ट्रिय मावि घलाङ र तारा मावि छेवेटारले समिति गठन गर्नका लागि प्रक्रिया थालेको तर पुर्णता पाउन नसकेको उनले जानकारी दिए । कोभिड र विद्यालय भित्रकै विविध समस्याका कारण समिति गठन हुन नसकेको नगरपालिकाले जनाएको छ ।
बाँकी तीन वटा विद्यालयले भने समिति गठन गर्नका लागि प्रक्रिया समेत सुरु नगरेको उनले बताए । सरस्वती मावि आहाले, महेन्द्र मावि कुन्दुरटार र रामशाह मावि देउरालीले भने समिति गठन गर्नका लागि प्रक्रिया समेत सुरु नगरेको उनले जानकारी दिए । ‘पुस मसान्तसम्म समिति गठनका लागि म्याद थपेको थियो तर उहाँहरुले कुनै प्रक्रिया नै सुरु गर्नुभएन । अहिले कोरोनाका कारण विद्यालयहरु पनि बन्द भयो’, उनले भने । कोभिडका कारण भेला गर्न डराएका कारणले पनि कतिपय विद्यालयमा भेला नभएको उनको भनाइ छ ।
नगरपालिकाको शिक्षा शाखाको वैठकले म्याद थप गर्न सक्ने भएता पनि त्यो सम्भावना अत्यन्तै न्यून रहेको उनी बताउँछन् । हाल कोभिडका कारण समिति गठन हुन नसकिएता पनि विद्यालयहरुका गतिविधि सुचारु भए लगत्तै समिति गठन गर्नुपर्ने उनले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति गठन नहुँदा विद्यालयको सम्पूर्ण कामहरु रोकिने उनले बताए । समिति गठन नहुँदा विद्यालयका सम्पूर्ण गविविधिहरु, सम्झौताहरु संचालन गर्न तथा कार्यान्वयन गर्न समस्या हुने उनले बताए ।
गोरखा नगरपालिकाको शिक्षा ऐन २०७४ अनुसार सबै विद्यालयका समितिको म्याद सकिएकाले पुस महिनाभित्र समिति गठन गर्नुपर्ने व्यवस्था थियो ।




