
कोभिडका कारण धार्चे र पालुङ्टारको सेवा बन्द
कोरोनाको नयाँ भेरियण्टले धमाधम कर्मचारी संक्रमित भएपछि गोरखाको पालुंटार नगरपालिका र धार्चे गाउँपालिकाले सेवा बन्द गरेको छ ।
आइतबार सूचना जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
कोरोना संक्रमितको संख्या दिनहूँ बढ्दै गएकाले संक्रमण दर नियन्त्रण गर्न गाउँपालिका केन्द्र माछाखोला शिल गर्ने निर्णय भएको पालिकाले जनाएकोछ ।
‘यस गाउँपालिकामा कार्यरत धेरै जसो कर्मचराीहरुलाई कोरोना भाइरस संक्रमण देखिएको अवस्थालाई मध्यनजर गर्दै १० गते देखि १४ गते सम्म गाउँपालिका केन्द्र माछाखोला बजार शिल गर्ने, गाउँपालिका कार्यालय वडा कार्यालयहरु, बैक तथा वित्तीय संस्थाहरु बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ, सूचनामा भनिएको छ ।
यो अवधिभर पालिकाभित्रका आन्तरिक कामकाज बाहेक सम्पूण सेवा प्रवाह बन्द हुने जनाएको छ । तर औषधी पसल, मेडिकल भने २४ सै घण्टा खुल्ला रहनेछ । खाद्यान्न पसलहरु बिहान सातदेखि ९ बजे सम्म र बेलुका ५ देखि ६ बजे सम्म खुल्ला हुने गाउँपालिकाले जनाएको छ । धार्चेमा हाल कोरोना संक्रिय संक्रमितको संख्या ५ रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै पालुङटार नगरपालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । पालिकाभित्रका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएकाले सेवाग्राहीलाई मध्यनजर गर्दै नौ र दश गते दुई दिन आवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रशासकीय अधिकृत बाबुराम काराखेतीले बताए ।




