
बारपाक सडक स्तरोन्नतिको कुरा, कहिले हुन्छ पूरा
चारबर्षअघि नै स्तरोन्नति भइसक्नु पर्ने एघारकिलो छेपेटार, भालुस्वाँरा बारपाक सडक स्तरोन्नतिको काम अहिलेसम्म अलपत्र छ । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईबर्षभित्र सो सडक कालोपत्रे हुनेछ भनेर आश्वासन दिएर फर्केका थिए । प्रधानमन्त्रीको प्रतिवद्धता सुनेर त्यतिबेला दङ्ग परेका स्थानीय अहिलेसम्म सडक स्तरोन्नति नहुँदा दिक्क छन् ।
लोहनी ब्रदर्शले १३ करोड २० लाख रुपैयाँ लागतमा स्तरोन्नति गर्न ठेक्का लिएको २२ देखि ३० किलोमिटरसम्मको सडकखण्डको काम अहिलेसम्म जम्मा ७० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
३५ करोड लागतमा स्तरोन्नति गर्न रसुवा सूर्य इलाईट जेभीले ठेक्का लिएको ३० देखि ४६ किलोमिटरसम्मको सडकको काम ६० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
यी दुवै खण्डको काम २०७४ सालभित्रै सम्पन्न गरिसक्नु पर्ने सम्झौता थियो तर ठेकेदारको लापार्बाहीका कारण अहिलेसम्म काम अलपत्र छ ।
अहिले यी दुबै खण्डमा काम गर्ने मजदुर देखिँदैनन् । कोरोनाको बाहना बनाउँदै निर्माण ब्यवशायीले लामो समयदेखि काम रोकेका छन् । कोरोनाको प्रभावका कारण सरकारले पटक(पटक म्याद थप्ने सुविधा दिएपनि ब्यवशायीले काम गरेका छैनन् । यसअघि सम्पन्न भएका कतिपय काम पनि अहिले भत्किएका छन् ।
कामको जिम्मेवारी लिएका ठेकेदारहरु काम अलपत्र पारी बेपर्वाह छन् । उनीहरुलाई लगाम लगाउने काम सडक योजना कार्यालयको हो, सडक विभागको हो, भौतिक पूर्वाधार मन्त्रालयको हो । तर कुनै पनि निकाय ठेकेदारलाई काममा प्रतिवद्ध गराउन सक्दैनन् । काम नगर्ने ठेकेदारकै डाँको चर्को हुन्छ । काम लगाउने निकाय निरिह हुने गर्छन् ।
नियमन गराउन भनेर सरकारले अनेक संयन्त्र निर्माण गरेको हुन्छ, तर कुनै पनि निकाय नियमन गराउन सक्षम छैनन् ।




