
मसानघाटमा नदीजन्य सामग्री उत्खननपछि स्थानीय द्वारा अवरोध, नगरपालिकाद्वारा उत्खनन रोक्का
मसानघाटमा नदीजन्य सामग्री उत्खनन् गरिएको भन्दै गोरखा नगरपालिका १३ अँबुवाका बासिन्दाले अबरोध गरेका छन् । अन्तिम संस्कार गर्ने घाटमा नियमविपरीत नदीजन्य सामग्री उत्खनन् गरिएको भन्दै स्थानीयबासीले बिरोध गरेपछि उत्खनन रोकिएको छ ।
उत्खननको इजाजत पाएको मनोकामना गुरुङ निर्माण सेवाले गोरखा नगरपालिका वडा नं. १२ र १३ स्थित दरौदी र लुदीखोलाको संगमस्थलमा रहेको मसानघाट क्षेत्रमा नदीजन्य सामग्रीको अवैध उत्खनन गरेको थियो । विहिबार अँबुवा, कर्मसिङफाँट टोलबासीले विरोध गरेपछि घाटमा उत्खनन रोकिएको हो ।
गोरखा नगरपालिका कार्यालयबाट उत्खननको ठेक्का लिएको सो कम्पनील्े दाहसंस्कार गर्ने घाटमा क्षति पुग्ने गरी उत्खनन् गरेको स्थानीयबासीको भनाइ छ । नदीजन्य पदार्थको अवैध दोहन रोक्न स्थानीयहरुले पटक पटक अनुरोध गरेपनि ठेकेदार कम्पनीले बेवास्ता गरी उत्खनन गरेको गोरखा नगरपालिका–१३ अँवुवा कर्मसिङटोल विकास संस्थाका अध्यक्ष किसान उप्रेतीले बताए ।
‘उत्खनन सुरु गरेदेखि नै हामीले विरोध गर्दै आएका थियौँ’, उनले भने, ‘तर ठेकेदार कम्पनीले पनि वास्ता गरेन, वडा कार्यालयले पनि नगरपालिका कार्यालयले पनि नसुने झै गरी उत्खनन गरिरह्यो । घाट नै ध्वस्त हुनेगरी दोहन हुनथालेपछि अब त अति नै भयो भनेर हामी सबै विरोधमा उत्रिएका हौँ । बल्लतल्ल अहिले घाट क्षेत्रमा अवैध दोहन रोकिएको छ ।’ दुईबर्षअघि कोभिड लागेर मृत्यू भएका पहिलो व्यक्तिलाई सोही घाटमा अन्त्यष्टि गरिनु तर अहिले सोही क्षेत्रमा उत्खनन गरिनु अन्यायपूर्ण भएको उनको तर्क छ ।
नगरपालिकाले खटाएको प्राविधिकलाई अवैध रुपमा उत्खनन गर्दा पनि किन नरोकेको भनेर सोध्दा कर उठाउन उत्खनन गर्न दिएको भन्दै पन्छिएको अध्यक्ष उप्रेतीले बताए । अँवुवा कर्मसिह टोल विकास संस्थाको वैठकले सो क्षेत्रको दरौदी नदी किनारमा नदिजनय पदार्थ उत्खनन र संकलन कार्य बन्द गराउने निर्णय गरेको थियो ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ मा उत्खनन गर्दा सडक, वन, खोलानालाको किनारा, घाट, पुललाई कुनै हानी नोक्सानी गर्न नमिल्ने उल्लेख छ । त्यस्तै, नगरपालिकाले निर्माण गरेको ‘प्रारम्भिक वातावरणीय परीक्षण’ (आईईई) मा पनि सो कुरा उल्लेख छ । तर ठेकेदार कम्पनीले मापदण्डलाई लत्याउदै घाट क्षेत्रमा जेसीभीको प्रयोग गरी उत्खनन् गर्दै आइरहेका थिए । सो कम्पनीलाई नगरपालिका कार्यालयले एकहजार नौसय ५० घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न गत पुस २० गते ठेक्का सम्झौता गरेको थियो ।
तर नगरपालिकाले भने घाटको दोहन नभै संरक्षण गर्नु नगरपालिकाको कर्तव्य भएको जनाएको छ । ‘हामीले घाटको दोहन होइन, संरक्षण गर्नुपर्छ । तर ठेकेदार कम्पनीले भूलवश घाटमा उत्खनन गरेछ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भने, ‘स्थानीयबासीले बिरोध गरेपछि मात्र हामीलाई जानकारी भयो । जानकारी पाउनासाथ हामील्े काम रोक्का गर्न निर्देशन दिएका छौँ ।’ आवश्यक परेमा सो घाटको मर्मतसम्भार गर्न नगरपालिका कार्यालय तयार रहेको उनले बताए ।
स्थानीयबासीले बिरोध गरेपछि वडा नं. १३ को कार्यालयले पनि घाटमा उत्खनन गर्न रोक लगाउन आग्रह गरेको छ । शुक्रबार वडा कार्यालयले गोरखा नगरपालिका कार्यालयलाई पत्र लेख्दै सो क्षेत्रमा नदीजनय पदार्थ उत्खनन, संकलन र विक्री वितरणलाई बन्देज लगाउन भनिएको छ ।
गोरखा नगरपालिका वडा १३ अन्तर्गत लुदिखोला दोभानघाट क्षेत्रमा भइरहेको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को उत्खनन, संकलनले अँवुवा कमंसिह टोल, वनदेवी सामुदायिक वन क्षेत्र, दरौदी मोटरेबल पुल लगायतलाई जोखिम पार्ने हुँदा उक्त क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन, संकलन र बित्री वितरणलाई पुर्णरुपमा बन्देज लगाउन लगाउनुपर्ने सो पत्रमा उल्लेख गरिएको छ ।




