| सोमवार, कार्तिक २३, २०८३

बारपाक सडक कालोपत्रे गर्न छाडेर हराए ठेकेदार

बाह«किलोदेखि बारपाक सम्मको सडक दुई वर्ष अघि कालोपत्रे भईसक्नुपथ्र्यो । तर अहिले पनि सडकमा बुङ्बुङ्ती धुलो उँड्छ । निर्माण ब्यवशायीले समयमै काम नगर्दा सडक अलपत्र छ । पक्की सडकामा यात्रा गर्ने बारपाकीको सपना निर्माण ब्यवशायीकै कारण पुरा हुन सकेको छैन ।


‘चार, पाँच वर्ष पहिला सडक कालोपत्रे हुन्छ भन्ने सुनेका थियौँ’ बारपाकका स्थानीय जितबहादुर घलेले भने ‘अहिले पनि सजिलो गरी यात्रा गर्न मिल्ने सडक बनेको छैन ।’ जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्न नसक्दा बिकास निर्माणको काम अलपत्र परेको उनले गुनासो गरे । अहिले पनि बर्षातको समयमा बारपाक सम्म सवारी साधन आउजाउ गर्न मुस्किल छ ।


चारवटा प्याक्केजमा ठेक्का लागेको उक्त सडक खण्डको २२ देखि ३० किलोमिटरको काम लामो समय देखि रोकिएको छ । १३ करोड २० लाख रुपैयाँमा लोहोनी एण्ड ब्रदर्श कन्ट्रक्सन प्रालीले ठेक्का लिएको खण्डको काम ७० प्रतिशत मात्रै भएको छ । २०७४ असारमा सिध्याउनुपर्ने काम म्यद सहिएको चार वर्ष सम्म पुरा हुन सकेको छैन । उक्त सडकको ७० प्रतिशत प्रगती भएको नौ करोड ९१ लाख रुपैयाँ खर्च भएको ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाका प्रमुख पशुपती ज्ञवालीले बताए । ‘हामीले काम छिटो गर्न पत्राचार गरेका छौँ’ उनले भने ‘योजना अनुसार पहिल्यैदेखि काम गरेका छैनन् ।’


३० देखि ४६ किलोमिटर बारपाक सम्मको सडकको काम ६० प्रतिशत मात्रै भएको छ । ३५ करोडमा ठेक्का भएको उक्त खण्डको अहिले सम्म २३ करोड ६५ लाख निर्माण कम्पनीलाई भुक्तानी दिएको छ । रसुवा सुर्य इलाईट जेभीले जिम्मा लिएको उक्त सडक दुईवर्ष अघि निर्माण सक्नुपथ्र्यो । कोरोनाको प्रभावका कारण सरकारले पटक–पटक म्याद थप्ने सुविधा दिएपनि ब्यवशायीले काम गरेका छैनन् । ‘काम भएको पनि केही भत्किएको छ’ आयोजना प्रमुख ज्ञवालीले भने ‘त्यो मर्मत गर्ने दायित्व पनि कम्पनीकै हुनेछ ।’


अहिले यी दुबै खण्डमा काम गर्ने मजदुर देखिँदैनन् । कोरोनाको बाहना बनाउँदै निर्माण ब्यवशायीले लामो समयदेखि काम रोकेका छन् । बारपाक खण्डको १७ देखि २२ किलोमिटरमा कन्काई गोरखा जेभीले काम गरेको हो । उक्त खण्ड पुरा भएको इन्जिनियर सुबास गुरुङले बताए । १५ करोड ३३ लाखमा उक्त काम भएको हो ।


बाह«किलो बारपाक खण्डको ४ देखि १६ किलोमिटर सम्म २०७१ साल असार ३१ गते ठेक्का सम्झौता भएको थियो । नार्गाजुन त्रिसुली जेभीले १० करोड ५९ लाखमा उक्त सडक निर्माणको जिम्मा लियो । उक्त खण्डको काम पाँच वर्ष सम्म पुरा नगरेपछि सो खण्ड मध्येपहाडली लोकमार्ग परेको छ । मध्येपहाडीमा पर्ने भएपछि ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजना उक्त खण्डको ठेक्का रद्ध गरेको छ । सो खण्डमा अहिले मध्येपहाडी लोकमार्गले काम गरिरहेको छ ।


ठेक्का लिएका ब्यवशायीले आफु काम नगर्ने र अर्को ब्यवशायीलाई योजना जिम्मा लगाउनु, बाहना बनाएर म्याद थप गर्नु, कार्यालयले काम नगर्ने ब्यवशायीलाई कारवाही गर्न नसक्नु लगायत कारण बारपाक सडक कालोपत्रेमा ढिलाई भएको गुनासो स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस्