
वित्तीय सुशासन र जोखिम मूल्याङ्कनबारे गोरखाका स्थानीय तहलाई प्रशिक्षण
गोरखाका स्थानीय तहलाई जोखिम मूल्याङ्कन र वित्तीय अनुशासनका बारेमा प्रशिक्षण दिइएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजना र जिल्ला समन्वय समिति गोरखाको समन्वयमा तीनदिने अनुशिक्षण कार्यक्रम भएको हो ।
सोमवार र मंगलवार दिन योजना प्रमुख, लेखा, सुचना प्रविधि अधिकृत लगायतलाई अनुशिक्षण दिइएको थियो । दुई दिनको उक्त कार्यक्रममा २७ जना सहभागी थिए । तेस्रो दिन बुधवार भने पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई पनि तालिम दिइएको थियो ।
आर्थिक गतिविधिको पारदर्शिता, मूल्याङ्कनमा कसरी पारदर्शिता कायम गर्न सकिन्छ, लेखापरीक्षणबाट मात्र मूल्याङ्कन गर्नु भन्दापनि पालिकाले पनि आफ्ना हिसाब किताब दुरुस्त राख्ने, मूल्याङ्कन गर्नुपर्ने, त्रुटी भए सच्याउने विषयमा प्रशिक्षण दिइएको जिल्ला समन्वय समितिका हरिहर दवाडीले बताए ।
कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख महेन्द्रप्रसाद भण्डारी, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराका निर्मला लिम्बु लगायतले सहजिकरण गरेका थिए । उक्त कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख आशोक कुमार गुरुङको अध्यक्षतामा भएको हो ।




