
भक्तजनलाई बिहिवारदेखि मनकामना मन्दिर प्रवेशमा रोक
गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिर भित्र भक्तजन प्रवेशका लागि रोक लगाइएको छ । कोरोनाको जोखिम बढेसँगै भिडभाड नियन्त्रण गर्न मंगलवार बसेको मनकामना क्षेत्र बिकास समितिको बैठकले बिहिवारदेखि मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।
‘नित्यपुजा, ध्यान, प्रार्थना मात्रै गर्नु र अन्य पुजापाठका काम नगर्नु भन्ने परिपत्र आएको छ’ क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले भने ‘मन्त्रिपरिषदको निर्णय लाई हामीले बैठक बसेर कार्यन्वयन गर्ने निर्णय गरेका हौँ ।’ मन्दिर खोल्ने बन्द गर्ने निर्णय क्षेत्र बिकासले नभई नेपाल सरकारले गरेको उनले बताए ।
मनकामना मन्दिरमा दैनिक अहिले एक देखि दुई हजार सम्म भक्तजन जाने गर्छन । बिदाको दिन यो संख्या अझै बढी हुन्छ । अत्याधिक चाप हुने हुँदा मन्दिर भित्र पुजा गर्न रोक लगाइएको हो । माघ मसान्त सम्म मन्दिरमा नित्य पुजा गर्ने निर्णय क्षेत्र बिकास समितिले गरेको छ । मनकामना पुगेका भक्तजनले मन्दिर बाहिरबाट दर्शन गर्न भने पाउनेछन् ।
मनकामना सम्म जाने मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकार भने बन्द नहुने भएको छ । ‘तत्कालका लागि केबलकार बन्द गर्ने योजना छैन’ स्टेशन म्यानेजर उज्वल शेरचनले भने । मनकामनाका स्थानीयलाई आउजाउ गर्न, मन्दिर बाहिरबाट पुजापाठ गर्ने भक्तजनको सजिलाका लागि पनि केबलकार भने नियमित चल्नेछ । मनकामनाका स्थानीय ब्यापारी ब्यवशायीले बजारक्षेत्र भने चलायमान राख्नुपर्ने बताउँदै आएका छन् ।




