| सोमवार, कार्तिक २३, २०८३

बुस्टर डोज खोप लगाउन सुरु गरौँ

सरकारले माघ २ गतेबाट बुस्टर डोज (कोरोना बिरुद्धको तेस्रो मात्रा)खोप सबै जिल्लामा सुरु गर्ने भनेपनि गोरखामा भने सुरु भएन । कारण कसलाई यो खोप लगाउने भन्ने तथ्याङ्क पालिका, स्वास्थ्य कार्यालय सँग यकिन नहुँदा ढिला भएको हो । अन्यत्र पनि धेरै जिल्लामा सुरु हुन बाँकी रहेको भन्दै स्वास्थ्य कार्यालयले माघ २ बाट सुरु गर्न सकेन ।

गोरखामा हरेक दिन कोरोना संक्रमण भने ब्यापक रुपमा बढेको छ । यस अघि मात्रा पुरा गरिसकेकालाई संक्रमण भएको देखिन्छ । उनीहरुलाई थप सुरक्षित गर्न बुस्टर डोज प्रभावकारी हुन सक्छ । ढिला भएपनि गोरखामा मंगलवारबाट बुस्टर डोज खोप लगाउने तयारी छ ।
कोभिडको पहिलो चरण मात्रा पूरा गरेका छ महिना पुगेकालाई बुस्टर डोज खोप लगाउन योग्य मानिन्छ ।

कसले कहिले मात्रा पूरा गरे र त्यस्ता मानिस कति छन् भन्ने यकिन तथ्यांक पालिका र स्वास्थ्य कार्यालयसँग नहुँदा खोपमा ढिलाई भएको हो । यसअघि पहिलो र दोस्रो मात्रा लगाउँदाको रेकर्ड ब्यवस्थित छैन ।

यस अघि दुई मात्रा पुरा गरेका हरुलाई तेस्रो मात्रा लगाउन थाल्नुपर्छ । कोरोना संक्रमण दर दिनदिनै बढ्दा सर्वसाधारणमा त्रास बढेको छ । अर्कोतर्फ बुस्टर डोज खोप किन सुरु भएन भन्ने चासो र चिन्ता पनि सर्वसाधारणलाई छ । अग्रपंक्तिमा खटिएकाहरुलाई निरन्तर उपचार, रोकथाम र बिभिन्न गतिविधीमा सक्रिय हुनुपर्ने बाध्यता छ । उनीहरुले पनि बुस्टर डोप खोप नपाउँदा चिन्तित छन् ।

गोरखा नगरपालिकाले आजदेखि बुस्टर डोज खोप सुरु गर्ने जनाएको छ । अन्य पालिकामा पनि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न तत्काल खोप लगाउनुपर्छ ।

कतिपयले बुस्टर डोजको प्रभावकारीकता बारे पनि चर्चा गर्छन । सरकारले अन्य देशको सिकाई र अभ्यासबाट बुस्टर डोज सिफारिस गरेकाले तेस्रो मात्रा लगाउन आत्तिनु नपर्ने चिकित्सकहरु बताउँछन् । आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोरोना बिरुद्धको खोप सबैले समयमै लगाऔँ ।

प्रतिक्रिया दिनुहोस्