| सोमवार, कार्तिक २३, २०८३

खोर्लाबेशीमा ३३ केभी क्षमताको विद्युत सवस्टेशन बन्ने

गण्डकी प्रदेश सरकारले धार्चे गाउँपालिका ३ खोर्लावेशीमा ३३ केभीएको विद्युत सवस्टेशन निर्माण गर्न लागेको छ । गत शुक्रबार बसेको नेपाल सरकारको मन्त्रीपरिषद बैठकले खोर्लामा ३३ केभीए क्षमताको विद्युत सवस्टेशन बनाउन जग्गा प्राप्तिसम्बन्धी निर्णय गरेको हो ।

‘गोरखाको खोर्लाबेशीमा ३३ केभीएको विद्युत प्रशारण लाइन तथा सवस्टेशन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक तयारी चलाउने अधिकारी तोक्ने’, सो निर्णयमा लेखिएको छ ।

सो सवस्टेशन नेपाल विद्युत प्राधिकरणको आरुघाट वितरण केन्द्रअन्तर्गत पर्छ । कम्तिमा १५ देखि २० रोपनी जग्गा प्राप्त भएपछि सवस्टेशन निर्माणको काम अघि बढ्ने विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले जानकारी दिए । धार्चे गाउँपालिकाभर उत्पादन भएको विद्युतलाई केन्द्रीय प्रशारण लाइनमा जोड्नका लागि त्यहाँ सवस्टेशन बनाउन लागिएको उनले बताए ।

‘धार्चे र त्यसआसपास विद्युत विस्तार गर्न सहज बनाउन र त्यसआसपास उत्पादन भएका विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्नका लागि सवस्टेशन बनाउन लागिएको हो’, न्यौपानेले भने । यसअघि गोरखा सदरमुकाम र पालुङटारमा सवस्टेशन सञ्चालन भइसकेको छ भने घ्याम्पेशालमा र चिप्लेटीमा पनि सवस्टेशन निर्माणको क्रममा छ ।

‘घ्याम्पेशालमा निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ’, उनले भने, ‘चिप्लेटीमा निर्माण प्रक्रियामा छ । खोर्लाबेशीको चाहिँ भर्खर प्रस्तावित छ ।’

प्रतिक्रिया दिनुहोस्