| सोमवार, कार्तिक २३, २०८३

काठ अभावले अकला मन्दिर निर्माण रोकियो

गोरखा नगरपालिका १४ को प्रमुख धार्मिक पर्यटकीय गन्तब्य मध्येको एक अकला मन्दिर निर्माणको काम रोकिएको छ । मन्दिरको निर्माण कार्य भइरहँदा काठ अभाव भएपछि केही समययता काम रोकिएको वडा अध्यक्ष रामबहादुर खड्काले बताए ।


वडा नम्बर १४ गोप्लिङमा रहेको अकला माई मन्दिरको गत जेठ मसान्तमा नरप्रमुख राजनराज पन्तले शिलान्यास गरेका थिए । मन्दिरको ढोका राखिएको छ । झ्याल राख्न, त्यहाँ प्रयोग हुने थाम, काठहरु अभाव भएपछि अहिले काम सुचारु भएको छैन ।


मन्दिर निर्माण एकवर्ष भित्र सिध्याउने लक्ष्य रहेको तर काम रोकिँदा समयमै सिध्याउन समस्या हुने वडा अध्यक्ष खड्का बताउँछन् । मन्दिरका लागि चाहिने काठ स्थानीय वन समुहबाट उपलब्ध गराउने योजना थियो ।

वन समुहले काठ समयमै उपलब्ध गराउन नसक्दा निर्माण ढिला भएको उनले बताए । मन्दिरका लागि सुकेको काठ चाहिने तर अहिले वन समितिसँग काँचो काठ मात्रै भएकाले समस्या भएको हो ।


निर्माण ब्यवशायीसँग ठेक्का हुँदा काठ बाहेकको कामको मात्र भएको नगरप्रमुख राजनराज पन्तले बताए । गोरखा नगरपालिकाको २० लाख र सांसद बिकास कोष अन्तर्गतको पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत ३० लाख स्टमेटमा टेण्डर आह्वान गरिएको थियो । यसवर्ष पनि नगरपालिकाले थप १० लाख रुपैयाँ बजेट मन्दिरका लागि थप बिनियोजन गरेको छ ।

‘अन्य संरचना बनाउने गरी १० लाख बजेट छुट्याइएको थियो’, उनले भने, ‘तर त्यो १० लाख रुपैयाँ काठ जुटाउनमा खर्च हुने भयो ।’ काठ उपलब्ध नहुँदासम्म थप काम अघि बढाउन नसकिने निर्माण ब्यवशायी बताउँछन् ।


मन्दिरमा निर्माण रोकिएसँगै फाट्ट फुट्ट भक्तजन बाहेक त्यहाँ कोही भेटिँदैनन् । मन्दिरको सुरक्षा पनि राम्रोसँग हुन सकेको छैन ।
नयाँ बन्न लागेको मन्दिर पुरातात्विक प्रकारको हुनेछ । धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले मन्दिरको गुरुयोजना समेत तयार गरिएको अकला मन्दिर संरक्षण समितिका अध्यक्ष कमलबहादुर भण्डारीले बताए ।

गुरु योजनामा दुई करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्रमागत रुपमा बजेटबाट काम गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।
अकला मन्दिरमा गोरखा तनहुँ, लमजुङ, चितवन लगायतका ठाउँमा भक्तजन आउने गर्छन । अक्कर परेका बेला भाकल गरेमा मनले चाहेको पुग्ने विश्वासका साथ भक्तजन आउने गरेको स्थानीय बताउँछन् ।


असार र साउन बाहेकका महिनामा उक्त मन्दिरमा भक्तजनको चाप बढ्छ । मगर पुजारी रहेको अकलामाई मन्दिरमा बली पनि चढाइन्छ । मन्दिर ब्यवस्थापन समितिले पुजारी राखेर ब्यवस्थित रुपमा नियमित पुजा पनि संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्