
गोरखामा भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न(फोटो फिचर)
गोरखामा भूकम्पबाट जोगिन कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको छ । २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा गोरखा सदरमुकामको रिपुमर्दन दल गणले पोखरीथोक व्यारेकमा भूकम्प सम्बन्धी प्रयोगात्मक अभ्यास गरेको हो ।

वि.सं १९९० माघ २ गते दिउँसो गएको भूकम्पको सम्झनामा राष्ट्रिय भूकम्प दिवस मनाउदै आइएको छ । भूकम्पले नभई कमजोर संरचनाले मानवीय लगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाइएको हो । भविष्यमा आउनसक्ने भूकम्पबाट बच्ने उपायका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको नेपाल रेडक्रस गोरखा शाखाले जनाएको छ ।

दिवसको अवसरमा भूकम्प आउँदा कस्तो विपत आइपर्छ ? त्यसबाट मानिसहरु कसरी जोगिने ? यस प्रकारका प्राकृतिक विपद आइपर्दा सरकारी निकाय, स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रस लगायतका संस्थाहरुले कसरी उद्धार गर्ने भनेर कृत्रिम घटना अभ्यास कार्यक्रममा प्रदर्शनी गरिएको थियो ।

त्यस्तै, यस प्रकारका प्राकृतिक विपदमा घाइतेको उद्धार, राहत व्यवस्थापन, संचारमाध्यम, स्थानीय जनप्रनिधि र सरकारी निकायहरुको भूमिकाका बारेमा पनि प्रयोगात्मक अभ्यास गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको व्यवस्थापन र गोरखा उद्योग वाणिज्य संघ, रोटरी क्लव, गोरखा नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गैरसरकारी संस्था महासंघलगायतको सहभागिता कार्यक्रममा थियो ।


नेपालमा वि.सं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।


त्यस्तै, भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकिएको अवधिमा काम नसकेपछि बाँकी काम सम्बन्धित विभागलाई हस्तान्तरण गरिएको छ ।





