
शिक्षा कार्यालय र प्रअ बीच टकराबको चोट शिक्षकलाई
पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षकहरुले तीन महिनादेखि तलबभत्ता पाएका छैनन् । विद्यालयमा कार्यरत ३२ जना शिक्षक तथा कर्मचारीले तलब भत्ता नपाएका हुन् ।
नगरपालिकाको शिक्षा शाखा र विद्यालय प्रशासन बीचको टकराबको चपेटामा त्यहाँका आम शिक्षक र कर्मचारी परेका छन् ।
काम गरेको पारिश्रमिक लामो समयदेखि नदिएको विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको गुनासो छ । प्रधानाध्यापक विद्यालयको काममा भन्दा राजनीतिक कार्यक्रम तथा राजनीतिक गतिविधिमा तल्लीन भएका कारण विद्यालयको शैक्षिक गतिविधि, प्रशासनिक पक्ष तथा लेखासम्बन्धी काम अलपत्र परेको नगरपालिकाको शिक्षा शाखाको आरोप छ ।
डेढबर्षदेखि बालबालिकालाई दिवा खाजा नदिएको, लेखा परीक्षण नगरेको नगर शिक्षा कार्यालयको आरोप छ । लापार्बाहीपूर्वक विद्यालय सञ्चालन गरेको बिषयमा पटक पटक स्पष्टिकरण सोध्दा पनि नगर शिक्षा शाखालाई बेवास्ता गरेकाले तलब रोक्न बाध्य भएको शाखाको भनाइ छ ।
राजनीतिक आडमा विद्यालयको कार्यसम्पादन, वडा शिक्षा समिति र शिक्षा कार्यालयलाई नजर अन्दाज गरेको आरोप पनि नगर शिक्षा कार्यालयको छ । तलब दिनुपर्ने भन्दै बिहिबार शिक्षक तथा कर्मचारीले शिक्षा शाखामा ज्ञापन पत्र पेश गरेका थिए । सो मौकामा पनि उनी संवद्ध राजनीतिक पार्टीका पालिकास्तरका नेताहरुले शिक्षा प्रमुखमाथि आत्मासम्मानमा चोट पुग्ने खालका शव्दहरुको प्रयोग गरी गतिविधिहरु गरेका नगर शिक्षा कार्यालयको भनाइ छ ।
टकराब विद्यालयका प्रशासक र नगरशिक्षा कार्यालय बीच भएको हो तर चोट तमाम शिक्षक, कर्मचारीलाई प¥यो । यस विषयमा दुवै पक्षले आत्मसमीक्षा गर्नु जरुरी छ ।
सम्पन्न, सम्भ्रान्त, कुलखानदान भए दुख गरेर पढाउन कोही जाँदैनथ्यो । दिनभर विद्यालयमा दुख गरेर छाक टार्नुपर्ने अबस्थाका शिक्षक, कर्मचारी समस्यामा छन् । कसले आफ्नो ठाउँबाट के गर्नुपर्छ गरेर पनि शिक्षक, कमएचारीको समस्या समाधानतर्फ दुवै पक्ष जानुपर्छ ।




