
श्रीनाथकोटमा करिब दुई करोडको लगानी स्वास्थ्य चौकी भवन बन्ने
केशव गुरुङ
सिरानचोक गाउँपालिका वडा नं ७ स्थित श्रीनाथकोटमा करिब दुई करोडको लागतमा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । शनिबार गाउँपालिका अध्यक्ष राजु गुरुङ र वडा अध्यक्ष सुरज ढकालले संयुक्त रुपमा भवनको शिलान्याश गरेका हुन् ।
हाल अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आएको र नयाँ भवन बनेपछि स्थानीयहरुलाई स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गर्न धेरै सहज हुने श्रीनाथकोट स्वास्थ्य चौकी प्रमुख विश्वनाथ पाण्डेले बताए । ‘अहिले अस्थायी भवनबाट सेवा प्रवाह गरिरहेको छौँ । ठाउँ सानो र साँघुरो भएकाले सेवा प्रवाह गर्न पनि समस्या छ । अहिले नयाँ पक्की भवन बन्दै छ ।
नयाँ भवन बनेपछि स्वास्थ्य उपचार गर्न आउने स्थानीयहरुलाई धेरै सहज हुन्छ’ उनले भने । नयाँ भवन बनेपछि ओपिडी, सुरक्षित मातृत्व लगायतका हरेक सेवाहरु फरक फरक कक्षबाट संचालन हुने उनले बताए । साथै यसले बिरामीको गोपनीयता कायम हुने समेत उनले बताएको छ ।

भारतीय सरकारको सहयोगमा जिल्ला आयोजना इकाई भवनमार्पmत स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु भएको हो । ‘ठेकेदार कम्पनीले २०७८ वैशाख २९ गतेबाट भवन निर्माणको कार्य सुरु गरेको हो । भवन कार्यालयसँगको सम्झौता गरे अनुसार भवन निर्माण कार्य २०७९ असोज २९ गते सक्नुपर्ने छ । तर कोभिड लगायतका कारणले भवन निर्माण कार्यमा ढिलाई भएको छ तर उहाँहरुले समयमै काम सक्छु भन्नुभएको छ’ उनले भने, ‘अहिले रिटेनिङ वाल बनाउने काम सकेर जग खन्ने काम सुरु भएको छ ।’

चौकी प्रमुख पाण्डेको अनुसार भ्याट बाहेक करिब दुई करोड २२ लाखको लागतमा पाँच शैयाको दुईतल्ले भवन निर्माण हुन लागेको हो । नयाँ भवन बनेपश्चात सिरानचोकको उपल्लो गोहोरे, तल्लो गोहोरे, काभ्रे, डाडाँगाउँ, आरुबोट, ठूलो गाउँ, झारगाउँ, लप्से, भँगेरी लगायतका गाउँका स्थानीयहरु उक्त स्वास्थ्य चौकी उपचारका लागि आउने पाण्डेले जानकारी दिए ।

श्रीनाथकोटमा रहेको स्वास्थ्य चौकी भवन भूकम्पले भत्काएपछि अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । अस्थायी भवनमा विरामी उपचारका लागि ठाउँ साँघुरो हुने, बर्खामा छानाबाट पानी चुहिने लगायको समस्या रहेको बताउदै नयाँ भवन बनेपछि स्वास्थ्य चौकी उपचार गर्न आउने स्थानीयहरुलाई सेवा प्रवाह गर्न धेरै सहज हुने अध्यक्ष गुरुङले बताए । नयाँ स्वास्थ्यचौकी भवन सुविधा सम्पन्न हुने उनको भनाइ छ ।




