| सोमवार, कार्तिक २३, २०८३

हिउँ धान्न नसकेपछि छेकम्पारको वुद्ध आधारभूत विद्यालयको भवन भत्कियो

भारी हिमपातपछि गोरखाको एक विद्यालयको भवन भत्किएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पारको वुद्ध आधारभूत विद्यालयको भवन हिमपातका कारण भत्किएको प्रधानाध्यापक छिरिङफुञ्जो लामाले जानकारी दिए ।

‘पाँचकोठे छात्रवास भवनको छानामाथि चारफिट भन्दा बाक्लो हिउँ जम्यो’, लामाले भने, ‘लामो समयसम्मको भार धान्न नसकेर भवनको छानो भत्कियो ।’ भवन भत्किएपछि छात्रवासमा रहेका विभिन्न सामग्रीहरुमा क्षति पुगेको उनले बताए ।

हिमपातपछि विद्यालयमा जाडो बिदा गरिएकाले अन्य क्षति भने हुन नपाएको विद्यालयले जनाएको छ । ‘त्यो छात्रवास भवनमा ३० जना भन्दा धेरै विद्यार्थी बस्थे’, उनले भने, ‘हिमपात भएपछि विद्यालय बन्द गरियो । होस्टेल पनि बन्द गरियो र ओढ्ने, ओछ्याउने कपडाहरु, कितावहरु चाहिँ विद्यालयका अफिस कोठामा राखिएको थियो । तर खाटहरु, फर्निचरहरुमा क्षति पुगेको छ ।’

सो भवन भूकम्पपछि एक गैरसरकारी संस्थाको सहयोगमा निर्माण भएको थियो । ‘२०७२ सालको भूकम्पले भत्किएको छात्रवास भवन बल्लतल्ल चाया नेपाल नामक एनजीओले बनाइदिएको थियो । अहिले फेरि भत्कियो’, उनले भने, ‘अब जाडो विदापछि तत्काल विद्यालय सञ्चालन गर्नपर्छ । भवन भत्किएपछि विद्यार्थी कहाँ राख्ने ? यो दुर्गममा कसको सहयोगले मर्मत गर्न सकिएला खै ? हामीले गुहार माग्ने गाउँपालिकासित हो । त्यहाँ ध्यानाकर्षण गराएको छु ।’ सदरमुकामबाट ५२ कोश टाढा रहेको वुद्ध आधारभूत विद्यालय गोरखा र तिब्बतको सीमानाको अन्तिममा रहेको विद्यालय हो । त्यहाँ कक्षा पाँचसम्म सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्