| सोमवार, कार्तिक २३, २०८३

गोरखामा पृथ्वीनारायणको यथोचित सम्मान

भनिन्छ, जसले इतिहासलाई सम्मान गर्छ, उसलाई भावी पुस्ताले पनि सम्मान गर्नेछ । यसको अर्थ काम केही नगर्ने, इतिहासलाई सम्मान मात्र गरेमा पनि भावी पुस्ताले सम्मान गर्नेछन् भन्न खोजिएको होइन ।

अर्थात बिगतमा पुर्खाले गरेको कामको कदर नगर्ने, उनीहरुको योगदानलाई रतिभर नसम्झने, उनीहरुको त्याग, तपस्यालाई नजरअन्दाज गर्ने अनि आफूले गरेको कामको मात्र प्रचारप्रसार गरिरहने प्रवृत्ति जो अहिले बढिरहेको छ, त्यो अपाच्य छ ।
यसको अर्थ विगतका शासकद्वारा लादिएका कुसंस्कार, कुप्रथा, दमन, शोषण, उत्पीडनलाई पनि स्वीकार गर्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने खोजिएको होइन ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि दिएका योगदान, गरेका काम स्तुत्य छन् । तत्कालीन परिवेशनलाई मध्यनजर गरी उनले लिएका निर्णय र गरेका हर काम प्रसंसनीय छन् । साना, टुक्रे तथा कमजोर राज्यलाई समेटर विशाल, संवृद्ध नेपाल बनाउने उनको अभियान आम नेपाल र नेपालीको हितको पक्षमा थियो भनेर स्वीकार्य छ ।

उनको एकीकरण अभियानलाई विस्तारवादी र साम्रज्यवादी भनेर आज केही उग्र स्वभाव भएकाहरुले ललकारे पनि त्यो केवल संकुचित र उग्रताको उपजबाहेक केही पनि होइन । इतिहास जित्नेको नै लेखिन्छ भन्दै कुतर्क गरेर बेतुकका अभिव्यक्ति दिए पनि पृथ्वीनारायण शाहको सन्दर्भमा ती केबल फाल्तु कुरा मात्र हुन् ।

उनका दूरदृष्टि, उनका पुरुषार्थ, उनका दिव्योपदेश आजपर्यन्त अजरअमर छन् । तिनका सन्देश अक्षरसः आज पनि सान्दर्भिक छन् ।
उनलाई देवकत्वकरण वा दानवीकरण केही गर्नु जरुरी छैन, केवल यथार्थताको प्रशंसा गरिएको हो । जसले जे भने पनि उनले नेपाल एकीकरण गरेर र आज हामी बसेको भूगोल नेपाल छ, नेपाली छौँ, हाम्रो पहिचान सुरक्षित छ । त्यसैले उनको स्मरणमा गोरखाबासीले जसरी स्मरण गरे, सम्मान प्रकट गरे, त्यो यथोचित छ ।

प्रतिक्रिया दिनुहोस्