
पालुङटारमा आज देखि माघ १५ गतेसम्म विद्यालय बन्द हुने
गोरखाको पालुङटार नगरपालिकामा आज बिहिबारदेखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द रहने भएको छ ।
देशभर कोरोना संक्रमणको तेस्रो भेरियण्ट बढ्न थालेकाले बुधबार बसेको नगरपालिकाको कार्यपालिकाको वैठकले पुस २९ गतेदेखि माघ १५ गतेसम्म पालिका भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विदाको अवधिमा वैकल्पिक सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको आवश्यक सहजीकरण गर्ने नगरशिक्षा अधिकृत बाबुराम कारखेतीले जानकारी दिए ।
वैठकले माघ ७ गते देखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोपकार्ड अनिवार्य रुपमा साथ राख्ने प्रबन्ध सम्बन्धित शिक्षण संस्थाले मिलाउनुपर्ने र शिक्षण संस्थाले अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा वार्षिक उत्सव जस्ता सार्वजनिक समारोहरुको कार्यक्रम आयोजना नगर्ने, गर्न नपाउने निर्णय भएको जनाएको छ ।
त्यस्तै, विद्यालय तहमा प्राविधिक धार सञ्चालन भएका विद्यालयहरुले प्रयोगात्मक कार्य सम्बन्धी क्रियाकलाप सञ्चालन गर्दा जनस्वास्थ्य सम्बन्धित न्यूनतम मापदण्ड परिपालन गरी फिल्ड तथा ओजेटी कार्य संचालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।




