
गोरखामा अझै पुरा भएन सत प्रतिशतलाई खोप लगाउने लक्ष्य
गोरखामा कोभिड १९ बिरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । स्थानीय तहले खोप नलगाउनेहरुको खोजी गर्दै खोप लगाउन अनुरोध गरिरहेका छन् । तर पनि सतप्रतिशतले कोडिभ १९ बिरुद्धको खोप लगाएका छैनन् ।
१८ वर्ष माथिका एक लाख ५९ हजार र १८ वर्ष मुनिका ८५ हजार चार सय ३० जनालाई कोरोना बिरुद्धको खोप लगाउनुपर्ने थियो । यी मध्ये १८ वर्ष माथिका एक लाख १९ हजार सात सय एक जना मात्र छन् । ३९ हजार पाँच सय ३७ जनाले पुरा मात्रा खोप लगाउन बाँकी छ । यी मध्ये पनि करिब ८ हजारले पहिलो मात्रा लगाएका छैनन भने २६ हजार तीन सय ८३ ले दोस्रो मात्रा लगाउन बाँकी छ ।
१२ देखि १७ वर्ष उमेर भित्रका २६ हजार छ सय ६१ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा गोरखाका सबै पालिकामा गरी २३ हजार आठ सय ९३ जनाले मात्रै पहिलो मात्रा लगाएका छन् । उनीहरुलाई दोस्रो मात्रा दिन बाँकी छ । बालवालिकालाई विद्यालयमै पुगेर खोप लगाउँदा पनि पालिकाको तथ्याङ्क अनुसार बालवालिका समेटिएका छैनन् ।

स्वास्थ्य कार्यालय गोरखासँग जोनसोन तीन हजार पाँच सय ८५ जनालाई लगाउन पुग्ने खोपको मात्रा छ । कोभिसिल्ड सात हजार नौ सय ३० जनालाई, भेरोसिल २२ हजार ५२ जनालाई लगाउन पुग्ने मात्रा रहेको स्वास्थ्य कार्यालयका राजिब देवकोटाले बताए । यी खोप १८ वर्ष माथि उमेरकालाई लगाउने मिल्छ । १२ देखि १७ वर्ष उमेरकालाई लगाउने मोर्डना खोप भने स्टक नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । धेरै दिन स्टक राख्न नमिल्ने भएकाले मोर्डना खोप फिर्ता पठाइएको हो । यो खोप पहिलो मात्रा लगाएकालाई माघ ४ गतेबाट दोस्रो मात्रा लगाउन सुरु गरिने देवकोटाले बताए ।
सरकारी सेवा लिन कोभिड १९ खोप लगाएको कार्ड अनिवार्य गर्ने तयारी गरिरहेका बेला खोप लगाउन छुटेकाहरुलाई समस्या हुने भएको छ । ‘हामीले वडा अध्यक्ष, जनप्रतिनिधिहरु, स्वास्थ्य संस्थाका कर्मचारी सबैलाई खोप लगाउन बाँकी हुनुभएकालाई खोजी गर्दै खोप लगाईदिन भनेका छौँ’ गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भने । नगरपालिका सदरमुकाम क्षेत्रमा पर्ने भएकाले अन्यत्रबाट सदरमुकाम बस्नेहरुको संख्या धेरै हुँदा सतप्रतिशत भन्दाबढिलाई खोप लगाईसकिएको उनले बताए ।
‘अहिले पनि हामी खोजी गरिरहेका छौँ’ उनले भने । गोरखाको दुर्गम धार्चे र चुमनुब्री गाउँपालिकाले पनि तथ्याङ्कमा जनसंख्या धेरै देखिएपनि कामको शिलसिलामा बाहिर बसेका कतिपयले उतै खोप लगाएको जनाएको छ । ‘हामीले खोप लगाउन बाँकी हुनुभएकालाई आह्वान गरिरहेका छौँ’ चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने ।
पालिकाहरुले एकैसाथ व्यवस्थित रुपमा खोप संचालन गरेकाले अधिकाशले खोप लगाईसकेको स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले बताइन् ।




